बझाङ — बैतडीको सूर्नया गाउँपालिकाका हरिश अवस्थी एभरेष्ट बैंकको साइपाल शाखामा काम गर्छन् । घुमफिरमा रुची राख्ने उनलाई साइपाल बेसक्याम्प पुग्ने ठूलो रहर थियो । करिब दुई वर्षदेखि साइपालकै धलौनमा रहेको बैंकमा कार्यरत भए पनि उनको यो धोको पूरा भएको थिएन । ‘यहाँ पोष्टिङ भएको दिननै सबैभन्दा पहिला साइपाल बेस क्याम्प पुग्ने सोचेको थिएँ,’ अवस्थीले भने, ‘दैनिक कामको चटारो, हप्ताको एक दिन बिदामा मौका मिलेकै थिएन । यसपाला दुई दिन विदा मिल्ने बित्तिकै बेसक्याम्प पुगेर आएँ ।’ वैशाख तेस्रो साता मजदुर दिवससँगै लगतै परेको शनिबार र आइतबार गरी तीन दिन विदाको मौका छोपेर साइपाल बेसक्याम्प पुगेका उनले साइपालको सुन्दरताले आफुलाई लठ्ठ पारेको बताए ।
गत चैत २३ बाट लागु हुने गरी सरकारले दुई दिने सार्वजनिक विदा (आइतबार र शनिबार) दिने निर्णय गरेसँगै अवस्थी जस्तै घुमफिरमा रमाउन चाहने कर्मचारीहरु विदाको समयको सदुपयोग गर्दै विभिन्न ठाउँमा घुम्न निस्किने गरेका छन् । घुम्नेहरु बढेसँग साइपाललगायत सुदूरपश्चिमका पर्यटकीय गन्तव्यमा चहलपहल देखिन थालेको छ । प्रायःजसो सुनसान रहने बझाङको साइपाल हिमाल आधार शिविरमा नयाँ वर्षयता आन्तरिक पर्यटकको आवागमन पनि बढ्न थालेको छ ।
बझाङ मात्रै नभएर सुूदुरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरालगायतका जिल्लाबाट साइपालको सुन्दरतामा रमाउन पुग्ने कर्मचारीको संख्या बढेको छ । ‘अन्नपूर्ण र अपि बेसक्याम्प पहिल्यै पुगेको भए पनि साइपाल पुग्ने चाहाना पूरा भएको थिएन,’ गत साता साइपाल वेसक्याम्प पुगेर फर्किएका स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले भने, ‘दुई दिने विदाले साइपाल पुग्ने सपना पनि पूरा भयो ।’ उनले आँखै अगाडि चारैतिर सेताम्मे हिमाल देखिने साइपाल क्षेत्र आफुले घुमेका अन्य हिमालका बेसक्याम्प भन्दा निकै सुन्दर र आर्कषक पाएको बताए । तीन दिन सार्वजनिक विदा भएका कारण दुई दिन अरु विदा लिएर पाँच दिनमा साइपालको यात्रा पूरा गरेर धनगढी पुगेका उनले तराईका जिल्लामा गर्मी बढिरहेको बेला चिसो मौसममा रमाउनका लागि साइपाल उपयुक्त गन्तव्य हुन सक्ने बताए ।
सात जनाको उनको टोलीमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, कैलालीका निर्देशक जनकराज ढुंगाना, स्वास्थ्य कार्यालय बझाङका प्रमुख ललित धामी, स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर साउद, विश्व स्वास्थ्य संगठनका अरुण जोशी, स्वास्थ्य कार्यालय कैलालीका सूर्य विष्ट र स्वास्थ्य कार्यालय बझाङका पारस खड्का पनि साइपाल पुगेका थिए । दैनिकजसो एकै प्रकृतिको काम गर्नुपर्दा दिक्क भएको आफुले साइपाल घुमेर फर्किएपछि उर्जा थपिएको महशुष गरेको उक्त टोलीका सदस्य स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य अधिकृत पारस खड्काले बताए। ‘लगातारको हिँडाइले थकित भएका थियौं । साइपालको काखमा पुगेपछि सबै थकान विर्सियौं,’ उनले भने, ‘त्यहाँबाट फर्किए पछि नयाँ उर्जा थपिएको महशुष भएको छ ।’ उनले साइपालमा आफुले पाएको शान्ति र दृश्यलाई शब्दमा वर्णन गर्न नसकिने बताए ।
छोटो समयमा पुगेर फर्किन सकिने भएकोले विदाको समय सदुपयोग गर्न कर्मचारीहरुलाई साइपाल उपयुक्त गन्तव्य हुन सक्ने उनको भनाइ छ । सहज तथा सुरक्षित यात्राका लागि पदमार्गको स्तरोन्ति गर्नुपर्ने, होमस्टेलाई थप सुविधायुक्त बनाउनुका साथै स्थानीय गाइड र भरियालाई तालिम दिएर पर्यटकमैत्री व्यवहार सिकाउन सके साइपाल आधार क्षेत्र धेरैका लागि पदयात्राको आर्कषणको केन्द्र बन्न सक्ने उनले बताए ।
गत वैशाख १ देखि २९ सम्ममात्रै ५ सय जना बढी साइपाल बेसक्याम्प पुगेका छन् । तीमध्ये १३० जना विभिन्न कार्यालयका कर्मचारी रहेको साइपाल बेसक्याम्पको प्रवेशबिन्दु धलौनमा साइपाल प्रवेश गर्नेहरुको रेर्कड राख्न खटिएका साइपाल गाउँपालिकाका कर्मचारी मिलन धामीले बताए । ‘यति धेरै कर्मचारी साइपाल घुम्न आउन थालेको पहिलो पटक हो,’ चार वर्षदेखि साइपाल प्रवेश गर्नेहरुको रेर्कड राख्ने काममा खटिएका उनले भने, ‘यस भन्दा अगाडि दसैंतिहारको बेला मात्रै फाट्फुट्ट कर्मचारी आउँथे । यो वर्ष त दैनिकजसो चाररपाँच जना आएकै हुन्छन् ।’ उनले सुदूरपश्चिमका सबै जिल्लाका विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी साइपाल घुम्न आएको भए पनि बढीजसो बझाङमै काम गर्नेहरु रहेको बताए ।
साइपाल घुम्ने आन्तरिक पर्यटकको संख्या बढेसँगै गाउँपालिकामा रहेका होमस्टेहरुमा पनि चहलपहल बढेको छ । ‘वैशाख लागेदेखि एक दिन पनि खाली भएको छैन । दिनमा १०/१५ जना पुगेकै हुन्छन्,’ साइपाल गाउँपालिकाको धलौनमा होमस्टे संचालन गरिरहेकी रुद्मा बोहराले भनिन्, ‘कुनै दिन त घरमा बस्नका लागि ठाउँ नभएर अन्तै पठाउनु पर्छ ।’ साइपाल बेसक्याम्प जाने बाटोमा पर्ने सबै १० वटा होमस्टे पाहुनाले भरिभराउ हुने गरेको संचालकहरु बताउँछन् । सरकारले दुई दिन सार्वजनिक विदा दिन गरेको निर्णयले साइपाल जस्ता गन्तव्य र आन्तरिक पर्यटन प्रर्वद्धन गर्न सहयोग पुगेको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए । ‘साइपाल पुग्नेहरु यहाँका फोटोरभिडियो सामाजिक सञ्जालमा हाल्छन् । कसै कसैले त यात्रा अनुभूति पनि लेख्छन्,’ उनले भने, ‘यो सबै देखेर अरु पनि साइपाल आउने गरेका छन् । नयाँ वर्षदेखि यसरी आउनेहरुमा कर्मचारी बढी छन् ।’
साइपाल पदयात्रामा आउनेहरुले कोसेली स्वरुप स्थानीय उत्पादन किनेर लैजाने भएकाले घिउ, मह, ऊन, र निगालोका सामान तथा कृषि उत्पादनको बिक्री समेत बढिरहेको उनले बताए । यसले स्थानीयलाई घरैमा बसेर आर्थिक उपार्जन गर्न सघाएको छ । साइपालमा जस्तै बझाङबाट खप्तड, सूर्मा सरोवरलगायतका पर्यटकीय गन्तव्यमा समेत चहलपहल बढेको चैनपुरका होटल व्यवसायी बताउँछन् । बझाङ सदरमुकाम चैनपुरस्थित एक होटलका सञ्चालक रमेश कुँवर भन्छन्, ‘दिनैपिच्छे घुम्न हिँडेको र घुमेर फर्केका १५/२० जना आएकै हुन्छन् । हप्तामा दुई दिन विदा हुन थाले पछि पनि घुम्नेहरु बढेका छन् ।’
राष्ट्रिय तथ्यांक कार्यालयको ‘बझाङ जिल्ला वस्तुगत विवरण’ अनुसार समुद्री सतहबाट ९१५ मिटर देखि ७०३१ मिटरको उचाइमा पर्ने साइपाल हिमालसम्म फैलिएको बझाङमा खप्तड, सुर्मा, आर्य हिमाल (७००० मिटर), नाम्पा हिमाल (६०५४ मिटर), उरै भञ्ज्याङ, जेठीबहुरानी हिमाल, राक्से हिमाल, राइढुंगी भञ्ज्याङ, तपोवन, बड्डी ज्यावन, कैलाश गुफा, केदार लेक जस्ता पर्यटकीय स्थल छन् । कान्तिपुरबाट


