धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१ शिवनगरमा रहेको खप्तड मालिका आमा समूहले सामाजिक सेवामा सक्रिय दृष्ठी फाउण्डेशनलाई नगद तथा लत्ताकपडा सहयोग गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा सञ्चालन भइरहेको फाउण्डेशनमा आश्रित सडक मानव, असहाय महिला तथा अन्य संरक्षण आवश्यक भएका व्यक्तिहरूका लागि समूहले २० हजार चार सय ७० रुपैयाँ नगदसहित लुगा कपडा सहयोग गरेको हो ।
खप्तड मालिका आमा समूहकी अध्यक्ष निर्मला कार्कीले डेउडा खेलेर संकलन गरिएको रकम तथा व्यक्तिहरूको स्वेच्छिक सहयोगबाट उक्त रकम जुटाइएको जानकारी दिइन् । उनले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले स्थापना गरिएको समूहले पहिलो सहयोग कार्यक्रमकै रूपमा दृष्ठी फाउण्डेशनलाई सहयोग गरिएको बताइन् । “समाजमा रहेका असहाय तथा संरक्षण आवश्यक भएका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो अभियान सुरु गरेका हौं,” अध्यक्ष कार्कीले भनिन्, “आगामी दिनमा पनि यस्ता सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिनेछौं ।”
सहयोग ग्रहण गर्दै दृष्ठी फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले आमा समूहप्रति धन्यवाद व्यक्त गरिन् । उनले सामान्य प्रयासबाट सुरु गरिएको फाउण्डेशन अहिले विभिन्न सहयोगी हातहरूको साथ र विश्वासका कारण यहाँसम्म आइपुगेको बताइन् । फाउण्डेशनले सडक मानव, असहाय महिला तथा संरक्षण आवश्यक भएका व्यक्तिहरूको पालनपोषण, हेरचाह तथा व्यवस्थापन गर्दै आएको छ । स्थानीय स्तरबाट हुने यस्ता सहयोगले सामाजिक सेवामा थप ऊर्जा मिल्ने फाउण्डेशनले जनाएको छ ।



