कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय हरिबल्लभ जोशीको दुई तले पक्की घरमा बिहीबार दिउँसो अचानक बिजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन तथा अन्य दैनिक प्रयोगका सामान जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार आगलागीबाट अन्दाजी तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ । स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । समयमै आगो नियन्त्रणमा लिएकाले थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


