कञ्चनपुर: कञ्चनपुरका केही युवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो नै भएको दाबी गर्दै ‘गो ब्याक इन्डिया’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन्। सोमबार साँझदेखि जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित मदनचोकमा भेला भएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
युवा सामाजिक अभियन्ता सुजित श्रेष्ठले पछिल्ला दिनहरूमा भारतीय पक्षबाट दार्चुलास्थित नेपाली भूमिमा हस्तक्षेप भएको आरोप लगाउँदै त्यसको विरोधमा प्रदर्शन गरिएको बताए। ‘हाम्रो भूमि, हाम्रो अधिकार’ र ‘सीमा रक्षा हाम्रो अभियान’जस्ता नारासहित प्रदर्शन गरिएको थियो। भारतीय हस्तक्षेप नरोकिएसम्म निरन्तर प्रदर्शन जारी राखिने उनीहरूले घोषणा गरेका छन्।


