धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य केपी खनालले ऐलानी जग्गामा घर निर्माण गरेको विषय सार्वजनिक भएपछि खनालको सचिवालयले देशभर अतिक्रमित संरचना हटाइरहेका बेला राजनीतिक प्रतिशोध राखेर उनको बदनाम गर्न खोजेको आरोप लगाएको छ ।
खनालको सचिवालयका सदस्य हर्क पुनले राजनीतिक प्रतिशोध राखेर सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजिएको दाबी गरे । ‘राजनीतिक प्रतिशोध र बदनियत राखेर माननीय ज्यूको बदनाम गर्ने काम भइरहेको छ । देशभर सार्वजनिक जग्गा खाली गराउने अभियान चलेका यो पनि भत्काउनुपर्छ भन्ने होला,’ पुनले भने, ‘तर उहाँको आमा–बुवाले भारतमा रोजगारी गरेर बनाएको घरमा माननीय ज्यू बस्न नपाउने भन्ने हुन्छ र ?’
यद्यपि खनालको परिवार बस्ने घर ऐलानी जग्गामा निर्माण गरिएको कुरा भने साँचो भएको उनी बताउँछन् । तीन तलाको उक्त घर निर्माणकै क्रममा छ । लम्कीचुहा नगरपालिका क्षेत्रमा धेरैजसो स्थानीय ऐलानी जग्गामै बसोबास गरिरहेको बताउँदै पुनले खनालको परिवारले समेत लालपुर्जाका लागि फारम भएको बताए । खनालले भूमि आयोगबाट जग्गाको नामपास गर्दै प्रक्रिया पूरा गरे पनि लालपूर्जा भने प्राप्त गरेका छैनन् ।


