धनगढी — दार्चुलास्थित सुदूरपश्चिमकै अग्लो शिखर अपि हिमाल को बेस क्याम्पतर्फ प्रस्थान गर्ने ट्रेकिङ टोलीलाई नाट्टा सुदूरपश्चिम प्रदेश संघले धनगढीबाट औपचारिक रूपमा बिदाई गरेको छ। धनगढी उप–महानगरपालिका परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमाल सहित पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी टोलीलाई सफल, सुरक्षित र उपलब्धिमूलक यात्राको शुभकामना दिँदै बिदाई गरिएको हो।
कार्यक्रममा नाट्टा सुदूरपश्चिम प्रदेश संघका अध्यक्ष पदम त्रिकम सिंह र पूर्व अध्यक्ष माया प्रकाश भट्ट लगायतले टोलीका सदस्यहरूलाई खादा तथा माला लगाएर सम्मानपूर्वक विदाई गरेका थिए। वक्ताहरूले अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनमा यस्ता अभियानहरूले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। नगर प्रमुख हमालले अपि हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता ट्रेकिङ अभियानहरू प्रभावकारी हुने बताए। उनले स्थानीय तहले पर्यटन पूर्वाधार विकासमा प्राथमिकता दिँदै आएको उल्लेख गर्दै सुदूरपश्चिमलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।
त्यस्तै, नाट्टा सुदूरपश्चिमका पदाधिकारीहरूले अपि हिमाल बेस क्याम्प ट्रेकिङले दार्चुला क्षेत्रको पर्यटन विकास, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउने धारणा राखे। उनीहरूले सुरक्षित यात्राका लागि आवश्यक समन्वय र सहयोग निरन्तर रहने प्रतिबद्धता समेत जनाए।
अपि हिमाल बेस क्याम्प ट्रेक सुदूरपश्चिम प्रदेशकै आकर्षक तथा चुनौतीपूर्ण पदमार्गमध्ये एक मानिन्छ। समुद्री सतहबाट करिब ७,१३२ मिटर उचाइमा रहेको अपि हिमाल नेपालको प्रमुख हिमशृंखलामध्ये एक हो, जसले साहसिक पर्यटकहरूलाई विशेष आकर्षण प्रदान गर्दै आएको छ। यस ट्रेकिङ टोलीको यात्राले सुदूरपश्चिम प्रदेशको पर्यटन सम्भावनालाई थप उजागर गर्ने विश्वास गरिएको छ।


