धनगढी: धनगढीमा “सिमापार पर्यटन, सम्भावना, चुनौती र आगामी दिशा” विषयमा मिडिया अन्तरक्रिया कार्यक्रम गरिएको छ। नेपाल पत्रकार महासंघ कैलालीको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा उक्त कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले बताए । कार्यक्रममा उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालय सुदूरपश्चिम प्रदेश पर्यटन इकाइका अधिकृत दानबहादुर थापा, पर्यटन बोर्डका मिडिया कन्सलट्यान्ट दिलिप प्रकाश कार्की, नाटा सुदूरपश्चिमका अध्यक्ष पदमबिक्रम सिंह र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशबराज पाण्डेसँग प्यानल छलफल गरिएको थियो ।
प्यानलिस्टहरूले सुदूरपश्चिममा पर्यटनका प्रशस्त सम्भावना रहेको औंल्याउँदै ती अझै ओझेलमा पर्नुमा प्रभावकारी प्रचार–प्रसारको अभाव, कमजोर पूर्वाधार र नीतिगत स्पष्टता समेत नहुनु मुख्य कारण रहेको बताए। प्राकृतिक, सांस्कृतिक र जैविक विविधतालाई सशक्त “ब्रान्डिङ” गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आवश्यक रहेको उनीहरूको सामूहिक भनाइ रहेको थियो । प्यानल छलफलका क्रममा नीतिगत तहमा प्रदेश र स्थानीय तहबीच समन्वय अझ सुदृढ गर्नुपर्ने, पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्न स्पष्ट नीति र प्रोत्साहन कार्यक्रम ल्याउनुपर्नेमा पनि जोड दिएको थियो । निजी क्षेत्र सक्रिय भए पनि सरकारले सहकार्य गर्न नसकेको होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेले बताए ।
कार्यक्रममा सीमापार पर्यटनलाई विशेष प्राथमिकतामा राखेर छलफल गरिएको थियो । भारतका उत्तरप्रदेश र उत्तराखण्डसँगको नजिकको सम्बन्धलाई अवसरका रूपमा उपयोग गर्दै धार्मिक, सांस्कृतिक पर्यटनमार्फत भारतीय पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको नाटा सुदूरपश्चिमका अध्यक्ष पदमबिक्रम सिंहले बताए।
यसैगरी, प्रचार–प्रसारको कमीलाई सुदूरपश्चिमको पर्यटन विकासमा प्रमुख चुनौतीका रूपमा लिँदै डिजिटल मिडिया र आधुनिक प्रविधिको प्रयोगमार्फत यसको समाधान खोज्नुपर्नेमा पर्यटन बोर्डका मिडिया कन्सलट्यान्ट दिलिप प्रकाश कार्की जोड दिए । उनले हामीसँग के के सम्भावना छ भनेर, अरुले जानकारी गरिरहनु परेको चिन्ताको बिषय रहेको बताए । कस्तुरीले आफ्नो सुगन्ध खोजे झै सुदूरपश्चिम बासी पनि सम्भावना र अवसरलाई बर्षौं देखि खोजि मात्रै रहेको बताए ।
यस्तै कार्यक्रममा उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालय सुदूरपश्चिम प्रदेश पर्यटन इकाइका अधिकृत थापाले सरकारको तर्फबाट नीतिगत केही कमजोरी रहेको स्विकार गरे । हामीले विभिन्न समयमा पर्यटनका लागि काम त गरेको तर एकीन दस्तावेजीकरण गर्न नसकेको बताए । अगामी दिनमा पर्यटन व्यवसायीसँगको सहकार्यमा तीनै तहका सरकारले काम गर्नु पर्नेमा जोड दिए । पर्यटन विकासमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने र मिडियासँगै हरेक एक एक सञ्चारकर्मीले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले बताएका थिए ।
कार्यक्रममा सञ्चारकर्मी, पर्यटन व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरुले पनि सिमापार पर्यटन , सरकारी नीति , प्रचार(प्रसार र व्यवस्थापका बिषयलाई समेटेर प्रश्न गरेका थिए ।


