धनगढी: कैलाली जिल्लामा औलो, कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्काउ अभियान तीव्र पारिएको छ। प्रभावित तथा उच्च जोखिम क्षेत्रहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको अभियानअन्तर्गत जिल्लाका सयौँ घरमा विषादी छिटिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। अभियान अन्तर्गत टिकापुर, लम्कीचुहा, गौरिगंगा र गोदावरी नगरपालिका सहित जानकी गाउँपालिका, जोशिपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिका मा कार्यक्रम सम्पन्न भइसकेको छ। हाल धनगढी उपमहानगरपालिका मा विषादी छिट्ने कार्य जारी रहेको छ।
स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन बहादुर धामी का अनुसार औलो, कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो। “प्रभावित तथा सम्भावित महामारी क्षेत्रहरूमा विशेष ध्यान दिँदै कार्यक्रम अघि बढाइएको छ,” उनले भने, “चालु आर्थिक वर्षको साउनदेखि हालसम्म औलो तथा कालाजारका बिरामी देखिएका स्थान वरपर विषादी छिट्ने कार्यलाई प्राथमिकता दिइएको छ।” सरकारले कालाजार उन्मूलन सन् २०२८ भित्र र औलो निवारण सन् २०३० सम्म गर्ने लक्ष्य लिएको छ। यस लक्ष्य प्राप्तिका लागि परीक्षणको दायरा विस्तार, रोग पहिचान, तथ्यांक यकिन, बिरामीको समयमै उपचार, ‘केस–बेस सर्भिलेन्स’ तथा प्रतिकार्यात्मक गतिविधिलाई प्राथमिकता दिइएको स्वास्थ्य संस्थाहरूले बताएका छन्।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कैलालीमा १३३ जनामा औलो संक्रमण पुष्टि भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा २३१ जना र २०८०/८१ मा १३५ जनामा संक्रमण देखिएको थियो। यस्तै, कालाजारका बिरामी सन् २०२४ मा ११ जना, २०२५ मा ७ जना र २०२६ मा १ जना फेला परेका छन्।
बर्षेनी औलो र कालाजारका बिरामी देखिँदै जाँदा उन्मूलनको लक्ष्य हासिल गर्न चुनौती देखिएको स्वास्थ्य अधिकारीहरू बताउँछन्। यही चुनौतीलाई सामना गर्दै संक्रमण नियन्त्रण तथा रोकथामका लागि कैलालीमा विषादी छिट्काउ अभियानलाई तीव्रता दिइएको हो।


