धनगढी: धनगढी उपमहानगरपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ। उपमहानगरस्तरीय परीक्षामा धनगढीस्थित डिस्कभरी माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका अनुसार यस वर्ष कक्षा ८ को परीक्षामा सहभागी ९५ जना विद्यार्थिमध्ये ९१ जना उत्तीर्ण भएका छन्। यससँगै विद्यालयले ९५.७६ प्रतिशत उत्तीर्ण दर कायम गर्न सफल भएको हो, जुन उपमहानगरभित्रकै उत्कृष्ट नतिजामध्ये एक मानिएको छ।
नतिजा अनुसार विद्यालयका विद्यार्थी लोकजन बोहराले ४ जीपीए प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। त्यस्तै, ३५ जना विद्यार्थीले ए प्लस, ४९ जनाले ए र ६ जनाले बी प्लस ग्रेड हासिल गरेका छन्। यसले विद्यालयको शैक्षिक गुणस्तर र निरन्तर सुधारको प्रयासलाई झल्काउने विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक योगेन्द्र सिंहले उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेका छन्। उनले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यले नै यस्तो उपलब्धि सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरे। धनगढी उपमहानगरपालिकामा पछिल्लो समय सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक नतिजामा सुधार देखिन थालेको छ। यस वर्षको कक्षा ८ को नतिजाले पनि सो प्रवृत्तिलाई थप पुष्टि गरेको सरोकारवालाहरू बताउँछन्।


