धनगढी — धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष दिनेश कुमार कोइरालाको निधन भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, कोटिहवामा बसोबास गर्दै आएका कोइरालाको उपचारका क्रममा चैत २२ गते आइतबार ९० वर्षको उमेरमा निधन भएको हो।
कोइरालाले २०५० साल जेठ २८ गतेदेखि २०५१ साल असोज १ गतेसम्म नवजीवन सहकारीको अध्यक्षका रूपमा कार्यभार सम्हालेका थिए। सहकारीको प्रारम्भिक चरणमै उनले नेतृत्व गर्दै संस्थाको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनको नेतृत्वमा सहकारीले संगठनात्मक संरचना मजबुत बनाउँदै सदस्य विस्तार र सेवा प्रवाहलाई व्यवस्थित गर्न थालेको थियो।
उनको निधनप्रति नवजीवन सहकारी संस्था लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ। सहकारीका वर्तमान अध्यक्ष देवबहादुर बमले शोक वक्तव्य जारी गर्दै स्वर्गीय कोइरालाले सहकारी स्थापना र विकासमा पुर्याएको योगदान अतुलनीय रहेको बताएका छन्। “उहाँको दूरदृष्टि र मार्गदर्शनकै कारण सहकारी आजको अवस्थामा आइपुगेको हो,” बमले भने, “उहाँले देखाउनुभएको मार्गलाई आत्मसात गर्दै सहकारीलाई अझ उचाइमा पुर्याउने हाम्रो प्रतिबद्धता छ।”
स्थानीय समाजमा सरल, इमानदार र सहकारी अभियानप्रति समर्पित व्यक्तित्वका रूपमा चिनिएका कोइरालाले आफ्नो जीवनको महत्वपूर्ण समय सामाजिक तथा आर्थिक रूपान्तरणका लागि खर्च गरेका थिए। सहकारीमार्फत समुदायमा बचत तथा ऋणको पहुँच विस्तार, आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धिमा उनको योगदान स्मरणीय रहेको छ।
उनको निधनले सहकारी क्षेत्रसँगै समग्र समुदायलाई अपूरणीय क्षति पुगेको सहकारीकर्मीहरूले बताएका छन्। स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहकारीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।


