धनगढी । नेकपा एमाले जिल्ला कमिटी कैलालीले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी सर्मा ओली लगायत नेताको पक्राउप्रति कडा निन्दा, भर्त्सना र विरोध जनाएको छ । जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुगांनाद्वारा जारी विज्ञप्तिमा बालेन्द्र शाह नेतृत्वको सरकारले एमाले अध्यक्ष ओली र काग्रेंस नेता तथा पूर्व गृहमन्त्री रमेस लेखकलाई शुक्रबार बिहानै पक्राउ गरेको उल्लेख गर्दै उक्त कदमलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी” भनिएको छ । यस्तो कार्य लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी शासनको मर्म विपरीत रहेको भन्दै उनीहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ ।
एमालेले २०८२ भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको आयोगप्रति सुरुदेखि नै असहमति जनाउँदै आएको जनाएको छ । आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानका न्यायिक सिद्धान्तविपरीत रहेको पार्टीको ठहर छ । उक्त विषयमा सर्वोच्च अदालतबाट समेत गम्भीर प्रश्न उठेको उल्लेख गरिएको छ ।
उक्त घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्न एमालेले माग गरेको छ । साथै, गिरफ्तारीविरुद्ध शान्तिपूर्ण विरोधका कार्यक्रम सञ्चालन गरिने जनाउँदै पार्टीसम्बद्ध जनसंगठनमार्फत आयोजना गरिने आन्दोलनमा सहभागी हुन सबैमा आह्वान गरिएको छ ।
यसैक्रममा चैत १५ गते धनगढीमा ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरिने जनाउँदै उक्त कार्यक्रममा सहभागी हुन नेता, कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी आम नागरिकलाई संयमित र शान्तिपूर्ण ढंगबाट उपस्थित हुन आग्रह गरिएको छ । विज्ञप्तिको अन्त्यमा यस्ता दमनकारी र गैरकानुनी गतिविधिबाट पार्टीका नेता तथा कार्यकर्ता विचलित नहुने उल्लेख गर्दै आन्दोलन र संघर्षका लागि तयार रहन सम्पूर्ण पंक्तिलाई आह्वान गरिएको छ ।

