धनगढी । कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा नवनिर्मित ट्राफिक प्रहरी पोष्टको उद्घाटन गरिएको छ। सोमबार बिहान करिब १० बजे आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ओमबहादुर रानाले अस्थायी ट्राफिक प्रहरी पोष्ट भवनको उद्घाटन गरेका हुन्।
सूर्योदय सामुदायिक वनले उपलब्ध गराएको जग्गामा स्थानीय समुदायको सक्रिय सहभागितामा उक्त भवन निर्माण गरिएको हो। विभिन्न सामुदायिक वन उपभोक्ता समिति, निर्माण व्यवसायी, संघसंस्था, बजार व्यवस्थापन समिति, अटो व्यवसायी तथा स्थानीय बासिन्दाको नगद, श्रमदान र निर्माण सामग्री सहयोगबाट ८ लाख ८१ हजार रुपैयाँ लागतमा दुई कोठे एकतले पक्की भवन निर्माण गरिएको जनाइएको छ।
उद्घाटन कार्यक्रम वडा अध्यक्ष गोविन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि डीआईजी राना रहेका थिए। कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० पदम बहादुर बिष्ट, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर शाही लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
स्थानीय तह र समुदायको सहकार्यमा निर्माण भएको उक्त ट्राफिक प्रहरी पोष्टले क्षेत्रको ट्राफिक व्यवस्थापन तथा सुरक्षा सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

