धनगढी । सुदूरपश्चिममा एक महिनामा लागू औषधका ५३ मुद्दा दर्ता भएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार फागुन महिनामा मात्रै ५३ वटा मुद्दा दर्ता भएका छन् । जसमा ४ महिला र ८२ पुरुष गरी ८६ जना पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट २ किलो ६० मिलिग्राम चरेस, ९९ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन र १०५ एम्पुल फेनारगन बरामद गरिएको जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको एक महिने प्रगति वितरणमा ३०५ अपराधका मुद्दा दर्ता भएका छन् । जसमा ज्यान सम्बन्धी ५८, आत्महत्या सम्बन्धी ५२, चोरी सम्बन्धी १३, सङ्गठित तथा आर्थिक अपराधका ६१, सामाजिक अपराध ५३, महिला तथा बालबालिका सम्बन्धी २२, सवारी ज्यानका १५ र अन्य ३१ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीले सो अवधिमा जघन्य अपराधका ६२ दर्ता भएका छन् ।
५२ जनाले त्यागे प्राण
प्रहरीको विवरणमा फागुन महिनामा ५२ जनाले आत्महत्या ९प्राण त्याग० गरेको उल्लेख छ । जसमा २१ पुरुष, १९ महिला, ३ बालक र ९ बालिका रहेका छन् । जसमा सबैभन्दा बढी झुन्डिएर ४६ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता पदम बहादुर विष्टले बताएका छन् । उनका अनुसार ६ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा बढी रहेका छन् । जसमा १५ जना छन् । यस्तै १० देखि २० वर्ष उमेर समूहका १३ जना, २१ देखि ३० वर्ष उमेर समूहका १० जना, ४१ देखि ५० वर्ष उमेर समूहका ६ जना र ५० माथिका ८ जना रहेका छन् ।

