कञ्चनपुर — २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा सहभागी भएको थियो । चुनावी नतिजा मिश्रित आउने धेरैको आँकलन थियो । तर चार वटै निर्वाचन क्षेत्रमा मोओवादीकै उम्मेदवार विजयी भए ।
त्यतिबेला कांग्रेसका तत्कालीन वरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुरासँगै कञ्चनपुरको क्षेत्र नं ४ मा पनि चुनावी मैदानमा थिए । उनले डडेलधुरा र कञ्चनपुर ४ दुवै क्षेत्रमा जिते । त्यसपछि कञ्चनपुर ४ छाडे । उपनिर्वाचन हुँदा माओवादीकै हरिश ठकुल्ला निर्वाचित भए । त्यतिबेला क्षेत्र नं १ मा पुरन रानाथारु, २ मा देवीलाल चौधरी र ३ बाट टेकेन्द्र भट्ट निर्वाचित भएका थिए ।
२०६४ र त्यसपछिका निर्वाचन जस्तै यस पटक पनि जिल्लामा धेरैले मिश्रित नतिजा आउने अनुमान गरेका थिए । देशभरि आएको रास्वपाको लहरसँगै कञ्चनपुरका तीन वटै क्षेत्रमा रास्वपा उम्मेद्वार विजयी भए । क्षेत्र नं १ मा जनकसिंह धामी, २ मा दिपक बोहरा र ३ मा ज्ञानेन्द्र महता निर्वाचित भएका हुन् । ‘यो एक किसिमको लहर नै हो, जनताले जिल्लाका सबै क्षेत्रमा प्रायः एउटै दलका उम्मेद्वारलाई जिताउने गरेका छन्,’ सुदूरपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका सह–प्राध्यापक डा. भूपेन्द्र विष्टले भने, ‘यो मनसुन जस्तै हो, मनसुन जस्तै सबै क्षेत्रमा पुग्छ, विगतमा मनसुन आउथ्यो, यो पाली सुनामी नै आयो ।’ उनले ‘अल्गोरिदम’ले पनि कसैलाई हिरो र जिरो बनाउने काम गरेको उनले बताए । ‘अहिलेको चुनावमा राष्ट्रिय एकता पनि देखियो, भूगोल र क्षेत्र हेरिएन,’ विष्टले भने, ‘बालेनको क्रेजले सबैलाई आकर्षित गर्यो, उनले केही गर्छन् कि भन्ने आस पनि छ ।’
उनले विगतमा अन्तरर्घात हुँदा एक अर्को दलमा जाने सबै खाले भोट यसपटक घण्टी चिन्हमै गएको अनुमान गर्न सकिने बताए । अहिलेको चुनावी परिणामले रास्वपालाई चुनौती र अवसर दुवै भएको उनले बताए । विगतमा जस्तो हामीले अल्पमतमा भएर काम गर्न सकेनौं भन्ने बाहाना अब नहुने उनले बताए ।
यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि चार वटै क्षेत्रमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए । त्यतिबेला क्षेत्र नं १ मा दिवानसिंह विष्ट, २ मा एनपी साउद, ३ मा बहादुरसिंह थापा र ४ मा रमेश लेखक निर्वाचित भएका थिए । संविधान जारी भएपछि भएको पहिलो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भए ।
२०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो । राज्य पुर्नसंरचनापछि कञ्चनपुरमा ३ वटा निर्वाचन क्षेत्र कायम गरिएको थियो । त्यतिबेला क्षेत्र नं १ बाट पुष्पकमल दाहालकी बुहारी बिना मगर, २ बाट एमालेका नरबहादुर धामी र ३ बाट पनि एमालेकै डा. दिपकप्रकाश भट्ट निर्वाचित भएका थिए ।

