अछाम: प्रारम्भिक शिक्षाको सुधारका लागि अछामका बालविकास केन्द्रहरूमा नयाँ शैक्षिक सामग्री निर्माण गरिने भएको छ । त्यसका लागि २० वटा बालविकास केन्द्र छनोटमा परेका छन् । जिल्लास्थित सामाजिक विकास कार्यालयको आह्वानमा अछामका दश स्थानीय तहका दुई–दुई गरी छनोटमा परेका दश र अन्य दश गरी २० बालविकास केन्द्रमा प्रयोगमा ल्याउने गरी त्यहाँका शिक्षकहरूका लागि शुक्रबारदेखि मंगलसेनमा शैक्षिक सामग्री निर्माणको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काको उपस्थितिमा सुरु भएको शैक्षिक सामग्री निर्माण तथा प्रयोसम्बन्धी यो प्रक्रियापछि शिक्षकहरूले सम्बन्धित केन्द्रमा पुगेर स्थानीय कच्चा पदार्थको प्रयोग गरी बालबालिकाको नैतिक व्यवहार सुधारमा जोड दिनेछन् । त्यसले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक र नैतिक विकासमा सुधार हुने भन्दै मन्त्री खड्काले प्रयोगात्मक क्रियाकलापमा जोड दिन आग्रह गरे । उनले बालविकासको सुधारका लागि आमाबुबापछिको पहिलो जिम्मेवारी नै शिक्षकको हुने भएकाले असल भूमिका खेल्नुपर्नेमा जोड दिए । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालय जाने बानीको विकास गर्न आवश्यक पर्ने दैनिक गतिविधि प्रयोगमा ल्याउने खालका शैकिक्षक सामग्री निर्माण हुनुपर्ने भन्दै अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले त्यसमा ध्यान दिन सुझाव दिए । उनले गीत, खेलकुद आदि जस्ता बालबालिकालाई आकर्षण गर्ने खालका सामग्री आवश्यक रहेको बताए ।
सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलले यसबाट दशवटा छनोटमा परेका नमुना बालविकास केन्द्र र अन्य दश गरी २० बालविकास केन्द्रको स्तरोन्नतिका लागि स्थानीय सामग्री प्रयोग गरी शैक्षिक सामग्री निर्माण गर्ने उद्देश्य पूरा हुने बताए । राम्रो परिणाम दिने केन्द्रहरूका लागि अनुदानसमेतको व्यवस्था गर्दै आएकाले त्यसको सही सदुपयोग गर्न उनले आग्रहसमेत गरे । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख अम्बादत्त जोशीका अनुसार शिक्षाको जग बलियो बनाउन बालविकास केन्द्रहरूको ठुलो भूमिका रहेकाले त्यस प्रकारको सिकाइ भए–नभएकोबारे निगरानी पनि गरिनेछ ।
प्रशिक्षकहरू सरला ठकुराठी र ज्ञानु थापाले सहभागी बालविकास शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण र त्यसको प्रयोगबारे उनीहरूलाई प्रशिक्षण दिनेछन् । त्यसपछि शिक्षकहरूलाई सम्बन्धित बालविकास केन्द्रमा पठाएर स्थानीय कच्चा पदार्थको प्रयोग गरी शैक्षिक सामग्री निर्माण गरेर त्यसको प्रयोग गरिनेछ ।


