बैतडी — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा अझै ६ जना उम्मेदवारले बैंक खाता खोलेका छैनन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार एक स्वतन्त्रसहित ११ उम्मेदवारमध्ये शुक्रबारसम्म ५ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि नयाँ बैंक खाता खोलेका छन् । बैंक खाता खोल्नेमा कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द, राप्रपाका उम्मेदवार भुपेनबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार आनसिंह भण्डारी, रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी र श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय रहेका छन् ।
यस्तै खाता नखोल्नेमा एमाले उम्मेदवार दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्ट, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, आमजनता पार्टीका विसनसिह बोहरा, नेकपा माओवादीका रामबहादुर कुँवर र स्वतन्त्र उम्मेदवार जयप्रकास पन्त रहेका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता अनुगमन समितिको राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले बाँकी रहेका ६ जना उम्मेदवारले पनि फागुन ५ गतेभित्र खाता खोलिसक्न पर्ने आग्रह गरे ।
निर्वाचन आचारसंहिता अनुसार कुनै पनि उम्मेदवारले निर्वाचनमा हुने खर्च तथा प्राप्त गर्ने सहयोग बैंकिङ प्रणालीबाट मात्रै गर्नु पर्छ । २५ हजारभन्दा बढीको सहयोग तथा खर्च बैंकबाटै र त्यसभन्दा कमको नगदै लेनदेन गरे रसिदहरू भने दाखिला गर्नुपर्ने हुन्छ ।


