धनगढी – कैलालीको गेटा क्षेत्रस्थित जंगलबाट गम्भीर घाइते अवस्थामा उद्धार गरिएका एक युवकको कैलाली अस्पताल मा सफल उपचार गरिएको छ। गत माघ १४ गते बिहान करिब ३ बजेतिर गेटा मेडिकल कलेज अगाडिको जंगल क्षेत्रबाट अचेत अवस्थामा फेला परेका सन्देश बोहरालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। उद्धारका बेला बोहराको घाँटीमा गहिरो चोट लागेको, कम्मर र हातको हड्डी भाँचिएको तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएको अस्पताल स्रोतले जनाएको छ। अत्यन्तै नाजुक अवस्थामा अस्पताल ल्याइएका उनलाई चिकित्सक टोलीले तत्काल सघन उपचारमा राख्दै शल्यक्रियाको प्रक्रिया अघि बढाएको थियो।
अस्पतालका डा. रमेश जोशीका अनुसार बिरामीको अवस्था जटिल भए पनि समयमै उपचार सुरु गरिएकाले शल्यक्रिया सफल भएको हो। “घाँटीमा गम्भीर घाउ थियो, अत्यधिक रक्तस्रावको जोखिम पनि थियो। तर चिकित्सक टोलीको समन्वय र प्रयासले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो,” उनले बताए। हाल बिरामीको सबै शल्यक्रिया सम्पन्न भइसकेको र अस्पतालमै बेड रेस्टमा राखेर निगरानीमा उपचार भइरहेको जनाइएको छ। लम्कीचुहा नगरपालिका स्थायी घर भई हाल धनगढीमा बसोबास गर्दै आएका बोहराको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन्।
घटनाप्रति दुःख व्यक्त गर्दै उनका बुवा कृष्ण बोहराले कैलाली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार प्रकट गरेका छन्। “निकै सख्त घाइते अवस्थामा भेटिएका मेरा छोराले यहाँको उपचारका कारण पुनर्जन्म पाए,” उनले भने। साथै उनले घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेका छन्। घटना कसरी र किन भयो भन्ने विषयमा अहिलेसम्म स्पष्ट जानकारी नआएको र सम्बन्धित निकायबाट अनुसन्धान जारी रहेको जनाइएको छ। स्थानीयवासीले पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।


