धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा सहभागी भएनन् । निर्धारित समयसम्म पनि मतदानको लागि नपुगेपछि कांग्रेस कैलाली सचिव नृप सुनारले उनी अमेरिकामा रहेको बताए । जेन–जी आन्दोलनलगत्तै देउवा अमेरिका गएको बताइए पनि प्रदेशसभा र सरकारलाई औपचारिक जानकारी छैन । कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले आफूलाई देउवा कहाँ रहेको र कहिले आउने भन्ने विषयमा केही थाहा नभएको दावी गरे ।
‘उहाँले जानकारी दिएर जानुभएको भए कहाँ हुनुहुन्छ भन्ने थाहा हुन्थ्यो,’ उनले भने ‘संसदीय दलको बैठकमा पनि उपस्थित हुनुभएको छैन । कहाँ हुनुहुन्छ, कहिले आउनुहुन्छ अत्तोपत्तो छैन ।’ जेठ ११ गतेदेखि सुरू प्रदेशसभाको छैटौँ अधिवेशनका २५ वटा वैठकमध्ये उनी ८ दिनमात्रै उपस्थित भएका छन् । अधिवेशन सुरू भएपछि लगातार ६ बैठकमा उपस्थित नभएका देउवा त्यसपछि तीन बैठकमा झुल्किए । पछिल्लोपटक उनी अहिलेसम्म लगातार पाँच बैठकमा अनुपस्थित भएका छन् ।
अमेरिकामा रहेको भनिएका देउवाबारे सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीलाई पनि कुनै जानकारी छैन । ‘केही समयदेखि उहाँ सदनमा उपस्थित हुनुभएको छैन, अनुपस्थितिको कारणबारे पनि कुनै सूचना छैन,’ सभामुख भण्डारीले भने, ‘किन सदनमा उपस्थित नहुनुभएको हो भन्नेबारे हामीलाई कुनै जानकारी छैन ।’ लगातार १० बैठकमा विनासूचना गयल भए पद नै रिक्त हुनसक्ने कानुनी प्रावधान छ । प्रदेशसभालाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने व्यवस्था संविधानको १८० मा उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभा नियमावली २०८० को धारा १९३ मा यो व्यवस्था उल्लेख गरिएको छ । उक्त धारामा १० वटाभन्दा धेरै बैठकमा उपस्थित हुन नसक्ने अवस्थामा सभामुखलाई अग्रिम जानकारी दिएर सांसदलाई जानकारी गराउनु पर्ने उल्लेख गरिएको छ । १० भन्दा कम बैठकमा उपस्थित नहुन सक्ने अवस्था भएमा पनि सभामुखलाई जानकारी गराउनु पर्ने हुन्छ । केही समयअघि देउवाले मुख्यमन्त्री बन्ने गृहकार्य थालेका थिए । रामेश्वर चौधरीलाई मुख्यमन्त्री कलम शाहले बर्खास्त गरेपछि तत्कालीन नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले देउवालाई मुख्यमन्त्री बनाउने गरी पहल सुरु गरे । त्यसमा केही माओवादीका सांसदहरू पनि जुटेका थिए । अन्तिम अवस्थामा शेरबहादुर देउवा र आरजु राणाबाटै प्रकाश देउवाले ग्रिन सिग्नल पाएनन् ।
पार्टी सभापति रहेकै बेला ठूलोबुबाबाट मुख्यमन्त्री बन्न रोकिएपछि उनी रुष्ट बनेको कांग्रेस स्रोतको दाबी छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलगत्तै उनी अमेरिका प्रस्थान गरेका थिए । देउवाकी श्रीमती र सन्तान अमेरिकामै छन् । राष्ट्रियसभामा समेत भोट हाल्न नआएका उनी अब कहिले आउँछन् भन्ने विषयमा चर्चा सुरू भएको छ । अमेरिका रहेका देउवा प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाल आउने तयारी गरेको कांग्रेस कैलाली सचिव नृप सुनारको दाबी छ ।
‘अमेरिका रहेका कारण राष्ट्रियसभा निर्वाचनमा आउन पाउनु भएन’ उनले भने, ‘प्रतिनिधि सभा निर्वाचनको लागि फागुनको पहिलो साता आउँछु भन्नु भएको छ ।’
सांसदहरू को कति दिन गयल ?
प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित लक्ष्मण किशोर चौधरी २५ वटामध्ये २१ बैठकमा अनुपस्थित देखिएका छन् । मिर्गौला प्रत्यारोपणका लागि उनी लिखित जानकारी गराएरै उपस्थित हुन नसकेको सभामुख भीम भण्डारीले बताए । कोभिड–१९ सङ्क्रमण, निमोनिया र फंगल सङ्क्रमणका कारण दोस्रो पटक प्रत्यारोपण गरिएको मिर्गौला खराब भएपछि उनी बिरामी परेका थिए । त्यसपछि प्रकाश देउवा १८ दिन, नाउपा सांसद खुसीराम चौधरी र माओवादीका सांसद ओमविक्रम भाट १४ दिन, माओवादीकी गीतादेवी माल १० माओवादीकै शिवसिंहवली ११, नाउपाकी टीकादेवी थापा ११ बैठकमा गयल छन् ।
छैटौँ अधिवेशनको सबै बैठकमा सभामुख भीम भण्डारी , उपसभामुख कोइलीदेवी चौधरी , आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, कांग्रेस सांसद मधुदेवी भारती उपस्थित छन् । नेपाली कांग्रेसका बलबहादुर रानामगर, नेकपा एमालेका सांसद चक्र मल्ल, माओवादी सांसद अक्कल रावल, लक्ष्मी विक, नाउपाकी इन्दिरा गिरी, घनश्याम चौधरी १ दिन मात्रै अनुपस्थित छन् ।


