धनगढी — सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्दै धनगढीमा एक सय शय्याको सुविधा सम्पन्न केयरटेकर हस्पिटल औपचारिक रूपमा सञ्चालनमा आएको छ। आम नागरिकलाई गुणस्तरीय, सुलभ र भरोसायोग्य स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित स्थापना गरिएको यस अस्पतालले निजी अस्पतालको महँगोपन र सरकारी अस्पतालको भीड दुवै समस्याको समाधान गर्ने दाबी गरेको छ।
केयरटेकर हस्पिटल प्रालिका अध्यक्ष गोपालबहादुर शाहीले अस्पताल केवल उपचार केन्द्र मात्र नभई सेवा, संवेदना र समर्पणको प्रतीक भएको बताए। “उपचार खर्च सरकारी अस्पतालसरह र सेवा तथा व्यवस्थापन निजी अस्पतालको स्तरमा पुर्याउने हाम्रो लक्ष्य हो,” अध्यक्ष शाहीले भने।
अत्याधुनिक पूर्वाधार र बहुआयामिक सेवा
एक सय शय्याको क्षमतासहित सञ्चालनमा आएको अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मोडुलर अपरेसन थिएटर, २४ सै घण्टा आकस्मिक सेवा, जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोर्नी, छाला तथा सौन्दर्य रोग, मुटुरोग, न्यूरोलोजी, नाक–कान–घाँटी, दन्त सेवा, फिजियोथेरापी, प्रयोगशाला सेवा, एक्स–रे तथा अल्ट्रासाउन्ड सुविधा उपलब्ध छन्। अनुभवी, दक्ष र प्रतिबद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत सेवा प्रदान गरिने अस्पतालले निकट भविष्यमा सिटी स्क्यान, आइभिएफ, मुटु तथा क्यान्सरसम्बन्धी विभाग सञ्चालन गर्ने तयारीसमेत अघि सारेको छ।
२४ घण्टा सेवा र बिरामीमैत्री वातावरण
हस्पिटलमा २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ भने पर्याप्त पार्किङ सुविधा, हरियालीसहितको पार्क, एसी जडान गरिएको सहज आवत–जावत प्रणाली र आरामदायी पूर्वाधारले बिरामी तथा कुरुवालाई सहज वातावरण प्रदान गर्ने लक्ष्य लिइएको छ। केयरटेकर हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण भेगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गर्ने तथा आर्थिक रूपमा कमजोर वर्गका बिरामीलाई सहुलियतपूर्ण उपचार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
स्वास्थ्य सेवा मात्र होइन, दक्ष जनशक्ति उत्पादनमा समेत योगदान दिने उद्देश्यले अस्पतालले निकट भविष्यमा नर्सिङ कलेज तथा हेल्थ असिस्टेन्ट अध्ययन कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। “बिरामीप्रति सम्मान, उपचारमा पारदर्शिता र पैसाभन्दा मानव जीवनलाई प्राथमिकता”— यही मूल मन्त्रका साथ केयरटेकर हस्पिटल अघि बढिरहेको अध्यक्ष शाहीले बताए।
धनगढीमै सस्तो, गुणस्तरीय र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि स्थानीयवासीले केयरटेकर हस्पिटललाई क्षेत्रकै भरोसायोग्य स्वास्थ्य केन्द्रको रूपमा विकास हुने अपेक्षा गरेका छन्।


