धनगढी:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनले सुदूरपश्चिम प्रदेशमा दुई दिनमै प्रतिनिधि सभा निर्वाचनका १२ वटा क्षेत्रको भ्रमण गरेका छन्। मंगलबार मात्रै सुदूरपश्चिम प्रवेश गरेका बालेनले कैलाली र कञ्चनपुरका ८ निर्वाचन क्षेत्र भ्रमण गरेका थिए भने बुधबार पहाडी जिल्लाका ४ निर्वाचन क्षेत्रमा पुगेका हुन्।
बुधबार बालेनले एक–एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरा, बैतडी, दार्चुला र बझाङको भ्रमण गरेका छन्। बिहान डडेल्धुरा पुगेका उनले तुफान डाँडास्थित पार्टी कार्यालयमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका थिए। रास्वपाका नेता तथा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ताराप्रसाद जोशीका अनुसार बालेनको भ्रमण औपचारिक कार्यक्रमभन्दा पनि कार्यकर्ता र समर्थकसँगको संक्षिप्त भेटघाटमा केन्द्रित थियो। बालेनको उपस्थितिले पार्टी कार्यकर्ता र शुभेच्छुकहरूमा थप उत्साह र हौसला बढेको जोशीले बताए।
डडेल्धुरामा छोटो समय बिताएपछि बालेन बैतडीको पाटन पुगेका थिए। त्यहाँ उनले समर्थकहरूलाई अभिवादन गर्दै पार्टी कार्यालयमा रहेको रास्वपाको चुनाव चिह्न ‘घण्टी’ बजाएका थिए। त्यसपछि उनी दार्चुलाको गोकुलेश्वरस्थित पार्टी कार्यालय पुगेका थिए। राति करिब ८ बजे उनी बझाङको बुङ्गलस्थित पार्टी कार्यालय पुगेका थिए। बझाङमा उनले फागुन २१ गते हुने निर्वाचनका लागि रास्वपाका उम्मेदवारसँग छलफल गरेर फर्किएका थिए। अधिकांश स्थानमा बालेनले चुनाव चिह्न घण्टी बजाउँदै समर्थकहरूलाई अभिवादन गरेका थिए।


