धनगढी । देशभरि चुनावी माहौल सुरु भएको छ । उम्मेदवारहरू नयाँ–नयाँ मुद्दा र नारा बोकेर आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने क्रम जारी छ । राना थारु र चौधरी थारु समुदायको बाहुल्यता तथा पहाडी जिल्लाहरूबाट बसाइ सरेर आएकाहरूको बाक्लो उपस्थिति रहेको कञ्चनपुरमा पनि चुनावी महौल बढेको छ ।
तीनवटा निर्वाचन क्षेत्र भएको कञ्चनपुरमा योपटक २ नम्बर क्षेत्रमा चुनाव रोचक हुने देखिएको छ । कञ्चनपुरबाट पटकपटक चुनाव लडेका नेपाली कांग्रेसका नारायणप्रसाद साउद ९एनपी०, नेपाली कम्युनिस्ट पार्टी नेकपा माधव पन्त, नेकपा एमालेका वचनबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका दीपकराज बोहराबीच प्रतिस्पर्धा हुँदै छ ।
सिंह बाजुरा जन्मथलो भएका नेता हुन् । साउद र बोहरा डडेल्धुराबाट कञ्चनपुर बसाइ सरेका हुन् । पन्तको परिवार बैतडीबाट बसाइ सरेको हो । योपटक यो क्षेत्रमा दुई जना डडेल्धुराका, एक बैतडी र एक बाजुराबाट बसाइ सरेका नेताहरूबीच प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसका साउद सातौँपटक चुनावी मैदानमा होमिएका छन् । पन्त, सिंह र बोहरा पहिलोपटक चुनावी मैदानमा उत्रेका छन् । साउद २०७४ र २०७९ सालमा २ नम्बर क्षेत्रबाट चुनाव लडेका थिए । २०७४ सालमा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार नरबहादुर धामीसँग पराजित भएका थिए ।
२०७९ सालमा कांग्रेस, माओवादी र नेकपा एसबीच भएको चुनावी गठबन्धनमा साउद विजयी भएका थिए । कांग्रेस–माओवादी गठबन्धनको सरकारमा साउद परराष्ट्रमन्त्री पनि बनेका थिए ।
साउदले २ नं। क्षेत्रमा उम्मेदवार भएदेखि एकपटक जित्दै र अर्कोपटक पराजय भोग्दै आएका छन् । गणतन्त्रपछिका चारवटा चुनावमा दुईपटक जितेका छन् ।
२०६४ को पहिलो संविधानसभाको चुनावमा साउद तत्कालीन माओवादीका देवीलाल चौधरीसँग ७ हजार मतले पराजित भएका थिए । चौधरीले १८ हजार २२४ मत पाउँदा साउदले ११ हजार २०२ मत पाएका थिए ।
दोस्रो संविधानसभाको चुनावमा साउद १३ हजार ४१५ मत पाएर विजयी भएका थिए । एमालेबाट तारा लामा तामाङ ९ हजार ६७६ मत ल्याएर दोस्रो भएका थिए ।
ऋन् न्चयगउ
२०७४ मा साउद एमालेका नरबहादुर धामीसँग पराजित भएका थिए । धामीले ३३ हजार २२० मत पाएर विजयी हुँदा साउदले २४ हजार ८९३ मत पाएर पाराजित भएका थिए । २०७९ मा कांग्रेस, माओवादी र एससँगको गठबन्धनमा साउद विजयी भएका थिए । साउदले २८ हजार १३६ मत पाएर धामीलाई पराजित गरे । धामी २१ हजार ६८२ मत पाएर पराजित भए ।
कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवानिकट मानिँदै आएका साउदलाई विजयको निरन्तरता दिनुपर्ने र पहिलाको संस्थापनपक्षको बाहुल्य मानिएको सुदूरपश्चिम यथावत् रहेको सन्देश पनि दिनु छ ।
साउदले पहिलोपटक २०५१ मा तत्कालीन कञ्चनपुर क्षेत्र नं। ३ बाट चुनाव लडे, तर एमालेका उर्वादत्त पन्तसँग पराजित भए । २०५६ मा क्षेत्र नंं। १ बाट विजयी भए । उनले एमालेका रामकुमार ज्ञवालीलाई पराजित गरेका थिए । २०६४ मा क्षेत्र नं। २ बाट पराजित भए । २०७० सालमा विजयी भए । २०७४ सालमा पराजित भए र २०७९ सालमा विजयी भए ।
सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमा साउद मात्र एक्लो व्यक्ति हुन् जसले दोहोर्याएर टिकट पाए । उनलाई पुरानाको प्रभाव जनतामा अझै बाँकी छ भन्ने यो चुनावमा देखाउनु छ ।
अघिल्लो चनुावमा कांग्रेसको समानुपातिकमा मत १७ हजार ७०३ छ । एमाले १५ हजार ७०९, माओवादी केन्द्र ७ हजार ७७०, नेकपा एस २ हजार ५४२, रास्वपाले ५ हजार २८८, नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले ४ हजार ४८० मत पाएका थिए ।
तत्कालीन माओवादीले यो क्षेत्रमा ७० पछि उम्मेदवार नै उठाएको छैन । योपटक नेकपाबाट युवा नेता पन्त उम्मेदवार बनेका छन् । अघिल्लो चुनावमा तत्कालीन माओवादी र नेकपा एसका प्रदेश सांसद विजयी भएका थिए ।
प्रदेशसभा ‘क’मा तत्कालीन माओवादीका ओमविक्रम भाटले १० हजार ९३८ मत ल्याएर विजयी भएका थिए । एमालेका सिंहले १० हजार ४६५ मत पाएका थिए । प्रदेश ‘ख’मा कांग्रेसका बहादुरसिंह थापाले १० हजार ६८८ मत पाएर विजयी भएका थिए । एमालेका कृपाराम रानाले ८ हजार ९५७ मत पाएर पराजित भएका थिए । नेकपा एसका लालबहादुर खड्काले ४ हजार ४१० मत पाएका थिए ।
अहिले माओवादी र एसबीच पार्टी एकता भएको छ । तर, यो क्षेत्रमा लामो समयसम्म तत्कालीन माओवादीको उम्मेदवार नहुँदा गठबन्धनबाट प्रदेशसभाको एक क्षेत्र जितेको छ । एमाले प्रतिनिधिसभा र प्रदेशसभामा दोस्रो भएको छ ।
यो क्षेत्रमा साउदपछि चर्चामा आएका व्यक्ति हुन्, रास्वपाका दीपक बोहरा । बोहराको स्थायी घर डडेल्धुरा हो । उनी प्रतिनिधिसभाको चुनावमा कञ्चनपुर– २ बाट उम्मेदवार बनेका छन् । लामो समय पत्रकारिता गरेका उनी पहिलोपटक चुनावमा सहभागी हुँदै छन् ।
बोहराको पार्टीको प्रचारप्रसार बाहिरबाट भए पनि मतदातासँग उनी नयाँ हुन् । उनको पार्टीले अघिल्लो चुनावमा ४ हजार ९३७ मत पाएर तेस्रो पार्टी भएको थियो । रास्वपाले योपटक बोहरालाई उम्मेदवार बनाएर स्थापित पार्टीहरूलाई दबाबमा राखेको छ । बोहरा लामो समय रास्वपा सभापति रवि लामिछानेसँग काम गरेका व्यक्ति हुन् ।
राजनीतिक रूपमा त्यति चर्चामा नआए पनि बोहरा असल व्यवस्थापक मानिन्छन् । पत्रकारितामा राम्रो स्क्रिप्ट राइटर हुन् । लामिछानेले बोहराको स्क्रिप्ट टेलिभिजनमा वाचन गर्ने गरेका थिए । बोहराले विजयको झण्डा फहराउन अघिल्लोपटकको मतमा धेरै मत बढाउनुपर्नेछ । उनलाई डडेल्धुराबाट चुनाव लड्न कञ्चनपुर आएको आरोपको सामना गर्नुपर्नेछ ।
नेकपाका युवा नेता पन्त अध्ययनशील नेताको रूपमा चिनिन्छन् । धेरै पार्टीबीच एकता भएकाले नेकपाका उम्मेदवार पन्तलाई सबैलाई समेटेर जानुपर्ने चुनौती छ । आफूले मात्र जित्ने दाबी गरेर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालबाट पन्तले खड्काले पाएको टिकट खोसेका हुन् । उनलाई सबैभन्दा चुनौती नेकपाभित्रैबाट छ ।
टिकट वितरण गर्दा खड्काले पाएका थिए, तर पन्तले दुई दिनपछि टिकट आफूले लिएर उम्मेदवारी दर्ता गराएका हुन् । खड्का अहिलेसम्म कुनै पनि चुनावी कार्यक्रममा सहभागी भएका छैनन् । टिकट वितरण हुँदा जिल्लामा भएका खड्का अहिले काठमाडौंमा छन् ।
एमालेका सिंह प्रदेशसभामा पराजित भएका थिए । उनले प्रदेशसभा ‘क’मा १० हजार ४६५ मत पाएका थिए । एमालेले ‘ख’मा कृपाराम रानाले ८ हजार ९५७ मत पाएका थिए । एमालेको समानुपातिक मत १५ हजार ७०९ छ ।
यो क्षेत्रमा उम्मेदवार छनोट गर्न चुनाव नै भएको थियो । गत २० मंसिरमा उम्मेदवार छनोटका लागि भएको चुनावमा सर्वाधिक मत ल्याएका बेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्दले ६१, पूर्वसांसद नरबहादुर धामीले ५७ र सिंहले ५० मत ल्याएका थिए । सिंह राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष पनि हुन् । तर, आन्तरिक चुनावमा पनि तेस्रो भएको व्यक्तिलाई टिकट दिएको भन्दै पार्टीभित्र असन्तुष्टि छ । यो असन्तुष्टिलाई मिलाएर जानुपर्ने सिंहलाई चुनौती छ ।
सिंह प्रदेशसभामा पराजित भए पनि प्रतिनिधिसभा चुनाव उनका लागि पनि पहिलो हो ।
हेभिवेट साउदसँग प्रतिनिधिसभामा तीन जना नयाँ अनुहार प्रतिस्पर्धा गर्दै छन् । यहाँ अलिकति मतले हारजित हुने अवस्था रहेको नेकपाका नेता कमल क्षेत्री बताउँछन् । उनले भने, ‘भारी मतको अन्तरमा हारजित होलाजस्तो छैन । अलिकति मतान्तरले हारजित होला । स्थापित पार्टीहरूको संगठन छ । जनपरिचालन छ । तर, नयाँ भनेकाको संगठन छैन ।’

