धनगढी: सरकारले सन् २०१० मा नेपाललाई कुष्ठरोग उन्मूलन भएको देशका रूपमा औपचारिक रूपमा घोषणा गरे पनि कैलाली जिल्लाको वास्तविक अवस्था भने त्यसको विपरीत देखिएको छ । जिल्लामा पछिल्ला वर्षहरूमा कुष्ठरोगका नयाँ बिरामीको संख्या निरन्तर बढ्दै गएको तथ्यांकले उन्मूलनको घोषणा कागजमै सीमित भएको संकेत गरेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार कैलालीमा कुष्ठरोग भुसको आगोझैँ भित्रभित्रै फैलिँदै गएको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै जिल्लामा १ सय १७ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन् । जिल्लाका १३ स्थानीय तहमध्ये सेती प्रादेशिक अस्पतालमा पहिचान भएका केसहरू समेत जोड्दा धनगढी उपमहानगरपालिकामा सबैभन्दा धेरै ४८ जना कुष्ठरोगी भेटिएका छन् । त्यसपछि कैलारी गाउँपालिकामा १३ जना र लम्कीचुहा नगरपालिकामा ११ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।
यी तथ्यांकले जिल्लास्तरमै कुष्ठरोगको संक्रमण अझै गहिरो रूपमा फैलिरहेको स्पष्ट संकेत गर्छ । धनगढीपछि कैलारी गाउँपालिकामा वर्षेनी नयाँ कुष्ठरोगी भेटिने क्रम जारी छ । सो गाउँपालिकामा मात्रै आर्थिक वर्ष २०८०/८१ मा २६ जना नयाँ कुष्ठरोगी पहिचान भएका थिए । कतिपय अवस्थामा एउटै टोलमा धेरै जनामा रोग देखिनुले समुदायस्तरमै संक्रमण फैलिएको आशंका थप बलियो बनेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार टिकापुर, गौरिगंगा, घोडाघोडी, गोदावरी नगरपालिका तथा जानकी गाउँपालिका लगायतका स्थानीय तहहरूमा पनि कुष्ठरोगको संक्रमण बढ्दै गएको छ । कैलारी गाउँपालिकाका जनस्वास्थ्य अधिकृत बलबहादुर धानुकका अनुसार पछिल्ला वर्षहरूमा गाउँपालिकाले समुदायस्तरमा स्क्रिनिङ अभियान तीव्र बनाएका कारण बिरामीको संख्या बढेर देखिएको हो ।
“हामीले वर्षेनी स्क्रिनिङ गर्दै आएका छौँ । त्यसैले पहिचान भएका कुष्ठरोगी पनि बढ्दै गएका छन् । पत्ता लागेकाहरूलाई स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि उपलब्ध गराउने र रोगसम्बन्धी जनचेतना फैलाउने काम गरिरहेका छौँ,” उनले भने । उनका अनुसार हाल भइरहेको स्क्रिनिङ अझै विस्तार गर्न सकेमा थप बिरामी पत्ता लाग्ने सम्भावना छ । विगतको तुलनामा कुष्ठरोगीप्रति हुने सामाजिक भेदभाव केही हदसम्म कम भए पनि पूर्ण रूपमा हट्न नसकेको स्थानीयहरू बताउँछन् । यही सामाजिक डरका कारण प्रारम्भिक लक्षण देखिँदा पनि धेरैले रोग लुकाउने र समयमै स्वास्थ्य संस्थामा नआउने प्रवृत्ति अझै कायमै छ । कैलारी गाउँपालिका–१ की रामेश्वरी चौधरी भन्छिन्, “पहिलेभन्दा भेदभाव अलि कम भएजस्तो देखिए पनि अझै पूरै हटेको छैन । यही डरले कतिपयले रोग लागे पनि जाँच नगराउने र बाहिर खुल्न नचाहने गर्छन् ।”
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर अझै १६ जिल्ला कुष्ठरोगको दृष्टिले चुनौतीपूर्ण मानिन्छन् । तीमध्ये कैलाली पनि एक हो । यहाँ हरेक वर्ष नयाँ कुष्ठरोगी देखिनुले रोग जिल्लाभित्रै व्यापक रूपमा फैलिएको अनुमान गर्न सकिन्छ । पछिल्लो समय महिला र बालबालिकामा समेत कुष्ठरोगका केस देखिन थालेकाले स्थानीय स्तरमै संक्रमण फैलिएको संकेत गर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार कुष्ठरोग कैलालीका लागि गम्भीर चुनौती बनेको छ ।
“गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशभर १ सय ७३ जना नयाँ कुष्ठरोगी पत्ता लागेका थिए । तीमध्ये १ सय १७ जना कैलालीकै हुन्,” उनले भने, “यसको अर्थ प्रदेशभरका करिब ६२ प्रतिशत कुष्ठरोगी कैलालीमा छन् । यो अवस्था निकै चुनौतीपूर्ण छ । अब नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको लगानी र सक्रियता बढ्न आवश्यक छ । नत्र यो रोगविरुद्ध लड्न झन् कठिन हुनेछ ।”
सरकारले नेपाललाई कुष्ठरोग उन्मूलन भएको घोषणा गरे पनि कैलालीमा देखिएको अवस्थाले अझै ठूलो चुनौती बाँकी रहेको स्पष्ट देखिन्छ । नियमित स्क्रिनिङ, समयमै उपचार, समुदायस्तरको व्यापक जनचेतना र सामाजिक भेदभावको अन्त्य नगरी कुष्ठरोगको वास्तविक उन्मूलन सम्भव नदेखिने विज्ञहरूको भनाइ छ । त्यसैले अब स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय सबै मिलेर तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता झन् टड्कारो बनेको छ ।

