धनगढी — नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले कैलाली–५ मा यज्ञराज ढुंगाना, कैलाली–४ मा पार्टी उपमहासचिव लेखराज भट्ट, कैलाली–३ मा गौरीशंकर चौधरी, कैलाली–२ मा सूर्य बहादुर थापा र कैलाली–१ मा द्वारिका न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
पार्टीका अनुसार संगठन सुदृढीकरण, स्थानीय प्रभाव र चुनावी प्रतिस्पर्धालाई ध्यानमा राख्दै उम्मेदवार छनोट गरिएको हो। विशेषगरी कैलाली–५, २ र १ मा एमालेले नयाँ अनुहार अगाडि सार्दै परिवर्तनको सन्देश दिन खोजेको देखिन्छ।
कैलाली–५ बाट उम्मेदवार बनेका यज्ञराज ढुंगाना पार्टीभित्र संगठनात्मक रूपमा सक्रिय नेताका रूपमा चिनिन्छन्। यस्तै कैलाली–४ बाट टिकट पाएका लेखराज भट्ट पार्टीका प्रभावशाली नेता तथा केन्द्रीय तहमा अनुभवी व्यक्तित्व मानिन्छन्। कैलाली–३ का उम्मेदवार गौरीशंकर चौधरी र कैलाली–२ का सूर्य बहादुर थापालाई पनि स्थानीयस्तरमा लोकप्रिय तथा संगठनमा योगदान पुर्याएका नेताका रूपमा हेरिएको छ।
कैलाली–१ बाट टिकट पाएका द्वारिका न्यौपाने नयाँ अनुहार भए पनि लामो समयदेखि पार्टी संगठनमा क्रियाशील रहँदै आएका नेता हुन्। नयाँ उम्मेदवारमार्फत जनतामा नयाँ ऊर्जा र विश्वास जगाउने एमालेको रणनीति रहेको पार्टी स्रोतले जनाएको छ।
उम्मेदवार टुङ्गिएसँगै कैलालीमा एमालेको चुनावी गतिविधि थप तिव्र हुने अपेक्षा गरिएको छ। पार्टीले चाँडै नै चुनावी घोषणा पत्र सार्वजनिक गर्ने र घरदैलो अभियानलाई व्यापक बनाउने तयारी गरेको जनाएको छ।

