धनगढी — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा कम्युनिस्ट लिग (वाइसीएल) नेपालले संगठन सुदृढीकरणका लागि विभिन्न तहका जिम्मेवारीमा हेरफेर गरेको छ। वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले प्रदेश तथा जिल्ला तहमा रिक्त रहेका पदहरूमा मनोनयन तथा जिम्मेवारी परिवर्तन गरेको हो।
निर्णयअनुसार सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी बसन्त कार्कीलाई दिइएको छ भने तिलक जैसललाई सह–संयोजकको जिम्मेवारी तोकिएको छ। केन्द्रीय समितिको २०८२ कात्तिक १० गते बसेको बैठकले संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न निर्णयहरू गरेको जनाइएको छ। बैठकले रिक्त पदाधिकारीहरूमा थप मनोनयनसमेत गरेको छ। सुदूरपश्चिम प्रदेशका लागि राधिका धामीलाई अनुशासन आयोगको उप–प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ। त्यसैगरी गण्डकी प्रदेशबाट सविना घर्तीलाई केन्द्रीय सचिव तथा बागमती प्रदेशबाट राज कडेललाई आयोगको उप–प्रमुखको जिम्मेवारी दिइएको छ।
जिल्ला तहमा समेत संयोजक नियुक्ति गरिएको छ। सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङ जिल्लाको संयोजकमा रेश खड्का र बैतडी जिल्लामा दानबहादुर धामी चयन भएका छन्। कर्णाली प्रदेशको मुगु जिल्लामा राजीव बुढा संयोजक बनेका छन्। त्यस्तै गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लामा सुदर्शन प्रसाद खरेल संयोजक तथा सरस्वती दाहाल भुपाल सह–संयोजक नियुक्त भएका छन्। पर्वत जिल्लामा कृष्ण कार्की, प्रदेश नम्बर १ अन्तर्गत झापामा विनोद नेम्बाङ, उदयपुरमा इश्वर सापकोटा र सप्तरीमा प्रविण किराँती संयोजकका रूपमा मनोनयन भएका छन्। भोजपुर जिल्लामा भीषण किराँतीलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ।
वाइसीएल नेपालले संगठनलाई थप सशक्त बनाउँदै जनआन्दोलनलाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले यी निर्णयहरू गरिएको जनाएको छ।

