धनगढी । नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । सोमबार आयोजित एक समायोजन कार्यक्रमबिच चौधरी रास्वपामा आबद्ध भएका हुन् । उनी २०७९ को निर्वाचनमा कैलाली–१ ९२० बाट नाउपाबाट निर्वाचित भएका थिए ।
चौधरीसँगै तत्कालीन नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट नेता लक्ष्मण थारू, राजेश अधिकारी, कोमल ज्ञवालीलगायत नेताहरू पनि रास्वपामा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीभित्र छलफल नै नगरी कम्युनिस्ट पार्टीसँग एकता गरेको विषयमा सुदूरपश्चिमका यी नेताहरू असन्तुष्ट रहँदै आएका थिए । यो प्रवेशसँगै सुदूरपश्चिम प्रदेशसभामा रास्वपाका सांसद (निवर्तमान) संख्या दुई पुगेको छ । यसअघि डडेल्धुराबाट स्वतन्त्र जितेका प्रदेश सांसद डा। ताराप्रसाद जोशी रास्वपामा प्रवेश गरिसकेका छन् ।

