धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य दीपक बोहराले पार्टीकै कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। धनगढी उपमहानगरपालिका–१५ निवासी तथा रास्वपाका सक्रिय कार्यकर्ता डम्मर साउदले सामाजिक सञ्जालमार्फत आफूलाई गम्भीर धम्की आएको दाबी गरेका हुन्। साउदका अनुसार रास्वपाको आन्तरिक फेसबुक ग्रुपमा उनले प्रदेश सभापति प्रकाश बिस्टलाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लड्न नदिने षड्यन्त्र भइरहेको आशयको टिप्पणी गरेका थिए। सोही टिप्पणीपछि आफूलाई केन्द्रीय सदस्य बोहराबाट ज्यान मार्ने धम्की आएको उनको आरोप छ।
साउदले भने, “मैले पार्टीभित्र भइरहेको गतिविधिबारे आफ्नो धारणा मात्रै राखेको हुँ। तर त्यसकै आधारमा ‘तँले मलाई चिनेको छैनस्, तँलाई तेरो घरबाटै गायब गरिदिन्छु’ भन्ने खालको धम्की आयो।” उनले पार्टी हितका विषयमा आवाज उठाउँदा उल्टै डर–त्रास देखाउने प्रयास भएको बताए।
उनका अनुसार आफू लामो समयदेखि रास्वपाको संगठन निर्माणमा सक्रिय रहँदै आएको र पार्टीलाई बलियो बनाउने उद्देश्यले मात्रै टिप्पणी गरेको भए पनि त्यसलाई गलत रूपमा लिइएको छ। यस्तो व्यवहारले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुने उनले गुनासो गरे।

यद्यपि, आरोप लागेका केन्द्रीय सदस्य दीपक बोहराले भने आफूमाथि लगाइएको आरोप पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले आफूबाट कुनै किसिमको धम्की नदिएको स्पष्ट पारेका छन्। “माथि लगाइएका आरोप निराधार छन्। मैले कसैलाई धम्की दिएको छैन,” बोहराले भने। यसैबीच, रास्वपा नेता राजिव खत्रीले पनि सो विषयमा प्रतिक्रिया दिँदै फेसबुक ग्रुपमै आफू दीपक बोहरासँगै रहेको र त्यस्तो कुनै धम्की नदिएको दाबी गरेका छन्। उनले आन्तरिक विषयलाई अतिरञ्जित बनाइँदै बाहिर ल्याइएको हुन सक्ने संकेत गरेका छन्।
घटनालाई लिएर रास्वपाभित्र आन्तरिक विवाद चर्किँदै गएको देखिएको छ। पार्टी नेतृत्वले यस विषयमा औपचारिक छानबिन वा स्पष्ट धारणा सार्वजनिक नगरेसम्म आरोप–प्रत्यारोपले थप चर्चा पाउने अनुमान गरिएको छ।

