धनगढी: चिसो बढेसँगै कैलाली, कञ्चनपुरसहित तराईका जिल्लामा बाक्लो हुस्सु र सितलहरले जनजीवन प्रभावित बनेको छ । पुस १ गतेदेखि तापक्रम निरन्तर घट्दै जाँदा दैनिक ज्यालामजदुरी गरेर साँझ–बिहानको छाक टार्ने गरिखाने वर्ग सबैभन्दा बढी समस्यामा परेका छन् । चिसोका कारण नियमित रूपमा काम गर्न नसक्दा उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ । पछिल्लो करिब तीन सातायता कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लाहरूमा तापक्रम निरन्तर घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ । कार्यालयका अनुसार पुस १ गते कैलालीको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेकोमा बिहीबार ६ दशमलव ६ डिग्री सेल्सियससम्म झरेको थियो ।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख संजय कुमार साहका अनुसार तापक्रममा सामान्य उतारचढाव देखिए पनि चिसो क्रमशः बढ्दै गएको छ । “आगामी दिनमा तापक्रम अझै घट्न सक्ने सम्भावना छ । बादल लागे तापक्रम केही बढ्छ, आकाश खुले चिसो अझै बढ्छ,” उनले भने । उनका अनुसार पुस १ गतेदेखि नै यो क्रम जारी छ र हाल तत्काल तापक्रम बढ्ने संकेत देखिएको छैन ।
चिसो बढ्दै जाँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । विशेषगरी दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने समुदाय बढी मारमा परेका छन् । बिहान र बेलुकाको समयमा अत्यधिक चिसोका कारण बाहिर काम गर्न कठिन भएपछि उनीहरूको दैनिकी प्रभावित बनेको हो । धनगढीकी भुमी चौधरीले चिसोले मजदुरको जीवन झनै कष्टकर बनाएको बताइन् । “बिहान–बेलुका हातमुख धुनसमेत समस्या हुन्छ । दिनभरि लेबरी गरेर खाने हामीजस्ता मजदुरलाई काम गर्नै मुस्किल छ,” उनले भनिन्, “तर के गर्नु, खान–लाउनका लागि काम नगरी हुँदैन ।”
स्थानीयवासीका अनुसार यस वर्ष अघिल्ला वर्षको तुलनामा चिसो अत्यधिक बढेको छ । पुस १ गतेदेखि लागेको बाक्लो हुस्सु बिहीबार दिउँसो केही कम भए पनि शुक्रबार बिहानदेखि पुनः हुस्सु र सितलहर कायमै रहेको छ । चिसो र हुस्सुका कारण दैनिक काममा बाधा पुगेपछि घर खर्च धान्न कठिन भएको उनीहरूको गुनासो छ । धनगढी चौराहामा जुत्ता सिलाउँदै आएका जगत मगरातीले चिसोका कारण काम गर्न नसक्ने अवस्था आएको बताए । “नगरपालिकाले फालेको दाउरा तापेर बस्नुपरेको छ । अलि घाम लागेको दिन मात्र काम गर्न आउँछु, नत्र सकिँदैन,” उनले भने, “काम नगरेर खान कसैले दिँदैन, बाध्य भएर काम गर्नैपर्छ ।”
तराईका जिल्लामा बढ्दो चिसो, सितलहर र बाक्लो हुस्सुले विशेषगरी गरिखाने तथा मजदुर वर्गको जीवनयापन झनै कष्टकर बन्दै गएको छ । मौसम अझै चिसो हुने सम्भावना रहेकाले जोखिममा रहेका समुदायका लागि स्थानीय तह तथा सरोकारवाला निकायले न्यानो कपडा, अस्थायी आश्रय र राहतका कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
चिसो र सितलहरका कारण बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने चिकित्सकहरूले बताएका छन् । अत्यधिक चिसोले रुघाखोकी, निमोनिया, दम, मुटुसम्बन्धी समस्या तथा जोर्नी दुख्ने समस्या बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक रहेको उनीहरूको भनाइ छ । चिकित्सकहरूका अनुसार चिसोबाट बच्न न्यानो कपडा अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ । विशेषगरी टाउको, घाँटी, कान, हात र खुट्टा राम्रोसँग ढाक्ने गरी कपडा लगाउनुपर्ने सुझाव दिइएको छ । बिहान र बेलुकाको समयमा अत्यधिक चिसो हुने भएकाले अनावश्यक रूपमा घर बाहिर ननिस्कन र बाहिर निस्कनै परे न्यानो कपडा प्रयोग गर्न चिकित्सकले आग्रह गरेका छन् ।
त्यसैगरी, चिसो मौसममा तातो खानेकुरा तथा तातोपानी सेवन गर्नुपर्छ । धूम्रपान तथा मदिरा सेवनले शरीरको तापक्रम झनै घटाउने भएकाले यस्ता पदार्थको सेवन नगर्न चिकित्सकले सुझाव दिएका छन् । चिसोका कारण संक्रमणको जोखिम बढ्ने भएकाले हात सफा राख्ने, मास्क प्रयोग गर्ने र भिडभाडबाट टाढा रहने पनि चिकित्सकीय सल्लाह छ । खोकी, ज्वरो, सास फेर्न गाह्रो हुने, छाती दुख्ने जस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने चिकित्सकको भनाइ छ ।
घरभित्र आगो बाल्दा वा दाउरा ताप्दा पर्याप्त हावापासको व्यवस्था गर्नुपर्ने र बन्द कोठामा धुवाँ जम्न नदिन विशेष ध्यान दिनुपर्ने चिकित्सकले बताएका छन् । चिसोबाट बच्न न्यानो स्थानमा बस्ने, पर्याप्त आराम गर्ने र शरीर कमजोर नबनाउने गरी पोषिलो खाना खानुपर्ने सुझाव पनि दिइएको छ ।

