धनगढी । सरकारले सुदूरपश्चिम प्रदेशका चार जिल्ला सहित देशभरका नौ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयअन्तर्गतको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्दै उक्त निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सुदूरपश्चिम प्रदेशमा बाजुराको कोल्टी, डोटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर र बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिनेछ ।
यसैगरी अन्य जिल्लामा ताप्लेजुङको श्रीचङ्गा, डोल्पाको धो, मुगुको खत्याग, कालीकोटको रास्कोट र सङ्खुवासभाको हिदाङगढीमा पनि इलाका प्रशासन कार्यालय थपिनेछन् ।
नयाँ कार्यालय स्थापना भएपछि दुर्गम तथा सेवाबाट टाढा रहेका क्षेत्रका नागरिकलाई नागरिकता, राहदानी, शान्ति सुरक्षा लगायतका प्रशासनिक सेवा सहज हुने सरकारको विश्वास छ ।

