धनगढी । कैलालीको धनगढी उपमहागरपालिका–१३, कैलाली गाउँका मानबहादुर चौधरीको खेत धनगढी विमानस्थल नजिकै छ । उनको खेतमाथिबाट दैनिक हवाईजहाज ओहोरदोहोर गरिरहन्छ । खेतमा काम गर्न जाँदा सधैँ जहाज उडेको हेरिरहने उनकी साइँली छोरी टीकाले एक दिन प्रस्ताव राखिन , “बाबा, म पनि जहाज उडाउने पाइलट बन्छु ।”
छोरीको प्रस्ताव सुनेर केहीबेर त चौधरी अवाक भए । त्यसपछि उहाँले पाइलट बन्न धेरै पैसा लाग्ने र त्यस्तो आर्थिक हैसियत आफूहरूको नरहेको भन्दै छोरीलाई सम्झाए । त्यति मात्रै हैन, जहाज क्य्रास हुने खतरा धेरै हुने भन्दै उहाँले छोरीको प्रस्ताव टार्न खोज्नुभयो तर टीकाको अनुनयविनय अगाडि उनको केही लागेन ।
धनगढीको नास्ट कलेजबाट विज्ञानमा १२ कक्षा उत्तीर्ण गरिसकेकी टीकाले आफू जसरी पनि पाइलट बनिछाड्ने अड्डी कसिन । “मेहनत म गर्छु, हजुर पैसाको व्यवस्था गर्नूस् भनेर छोरीले जिद्दी गरिन्,” चौधरीले स्मरण गरे । , “त्यसपछि म पैसाको खोजीमा लागेँ, छोरी पाइलटको तालिमका लागि पठाउने कन्सल्टेन्सीको खोजीमा अगाडि बढिन् ।”
खेतमा जाँदा हवाईजहाज उडेको जमिनबाट हेर्ने २१ वर्षीय टीका चौधरी अब थारू समुदायबाट पहिलो महिला पाइलट बन्नुभएको छ । चौधरीले हालै निजी पाइलटको प्रमाणपत्र प्राप्त गरिसक्नुभएको छ । दक्षिण अफ्रिकाको स्काई हावक एभिएसनमा पाइलटको तालिम गरिरहेकी उनको तालिम पूरा हुन भने अझै बाँकी रहेको छ । “मेरो तालिम अझै पूरा भइसकेको छैन । तालिम पूरा गर्न दुई सय घण्टा जहाज उडाएको हुनु पर्दछ,” चौधरीले भनीन् , “मेरो अझै एक सय घण्टा उडान बाँकी छ । अबको छ महिनामा पूरा हुन्छ ।”
निजी पाइलटको प्रमाणपत्र प्राप्त गरेकालाई एक्लै हवाईजहाज उडाउन मिल्ने गरेको चौधरीले बताए । उनले मौसम खराब भएमा कहाँ जहाज अवतरण गर्ने भनेर अब आफूले एकल निर्णय गर्न पाउने र आफूले उडाएको जहाजमा आफ्नो बुवासहित दुई जनासम्मलाई बसाउन पाउने बताए । “पाइलटको तालिम धेरै नै हार्ड हुने गर्दछ । आकाशमा एक्लै जहाज उडाउनु पर्दछ,” चौधरीले थपिन , “तर पनि आँटे असम्भव केही पनि छैन । सफलता पाउन सकिन्छ ।”
मानबहादुरका पाँच छोरी र एक छोरा गरेर छ सन्तान छन् । छ सन्तानमध्ये एक छोरीलाई पाइलट बनाउन सकेकोमा गर्व महसुस भएको उनको भनाइ छ । यसैबिच थारू समुदायबाट पहिलो महिला पाइलट बनेर इतिहास रचेको र समुदायको इज्जत बढाएको भन्दै बातचित घर धनगढीले टीकालाई बिहीबार सम्मान गरेको छ ।

