धनगढी । कैलालीको अत्तरियामा २ वर्षको अन्तरालपछि आजदेखि महोत्सव आयोजना हुने भएको छ । २०६७ सालदेखि अत्तरियामा आयोजना हुँदै आएको महोत्सव गत वर्ष रोकिएको भए पनि यस वर्ष नयाँ आयोजकले नयाँ व्यवस्थापनका साथ ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ आयोजना गर्न लागेको छ । २०६७ देखि २०१७१ सम्म अत्तरियामा महोत्सव आयोजना गरिसकेको न्यु सृजनशील युवा क्लबको आयोजनामा आजदेखि महोत्सव सुरु हुन लागेको हो । २०७२ देखि २०८० सम्म भने अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ आयोजना गरेको थियो । गत वर्ष उद्योग वाणिज्य संघमा भएको आन्तरिक विवादका कारण महोत्सव हुन सकेको थिएन । यस वर्ष पनि महोत्सव आयोजना हुने अवस्था नभएपछि क्लबले महोत्सव आयोजना गर्न लागेको हो ।
यस पटकको महोत्सवको स्थान पनि परिवर्तन भएको छ । यसअघि अत्तरियामा रहेको लामिताल क्षेत्रमा महोत्सव आयोजना हुने गरेकोमा यस वर्ष लामितालको दक्षिण पट्टि रहेको सुरक्षा सामुदायिक वनको खुला चौरमा महोत्सवको मञ्च तयार पारिएको छ । महोत्सवको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ । महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको छ । महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई निःशुल्क, विद्यार्थीलाई ५० रुपैयाँ र सामान्य टिकट १ सय रुपैयाँ तोकिएको छ ।

