धनगढी । कञ्चनपुर कारागारमा हुँदै आएको बेथिति सतहमा आएको छ । कारागारका कैदिबन्दीहरु नै कारागारमा हुँदै आएको बेथितिविरुद्ध विरोध जनाउँदै कर्मचारी र नाइकेविरुद्ध एकजुट भएपछि कारागारको बेथिति सतहमा आएको हो ।
कारागारका कैदीहरू एक जुट भएर कारागार प्रशासनका कर्मचारी र केही नाइकेको मिलेमतोमा कारागार भित्र अवैध लागुऔषध र मदिराको व्यापार तथा ठुलो आर्थिक चलखेल हुने गरेको भन्दै शुक्रबार कैदी र नाइकेबिच झडप भएको थियो ।
झडप क्रममा चार नाइके र चार सह नाइके गरी आठ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा ३४ वर्षीय किरण सिंह, २९ वर्षीय मदन गिरी, २७ वर्षीय संदिप भण्डारी र २९ वर्षीय जनक खड्का रहेका छन् । यसैगरी, सहनाइकेहरुमा दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही र करण कुँवर घाइते भएको कारागारका सूचना अधिकारी जीवन पन्तले बताए । उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
कारागारका कैदीबन्दीहरुले प्रशासनका कर्मचारीको मिलेमतोमा नाइकेहरूले कैदीलाई प्रदान गरिँदै आएको रकम तथा खाद्यान्न सामग्रीमा ठुलो घोटाला गर्ने गरेको आरोप लगाएका छन् ।
के कस्तो सुविधा पाउँछन् त कैदी बन्दीले ?
कारागार ऐन २०७९ को दफा २० अनुसार, कारागार प्रशासकले बन्दीलाई मौसम अनुसारको पोसाकको व्यवस्था गर्नुपर्ने उल्लेख छ । तर कञ्चनपुर कारागार प्रशासनले भने मौसम अनुसारको पोसाकको व्यवस्था गर्नुपर्नेमा ऐन विपरीत निर्णय गर्दै वर्षमा दुई पटक नगद चार हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । तर कारागार प्रशासनका कर्मचारी र नाइकेको मिलेमतोमा दुई हजार ५ सय रुपियाँ मात्रै पोसाक बापत रकम दिइएको गुनासो कैदीबन्दीहरुको छ ।
के हो विवाद ?
कारागारमा रहेका कैदीबन्दीहरुलाई प्रदान गरिने रासन, पोसाकमा कारागारका कर्मचारी र नाइकेको मिलेमतोमा झन्डै ३० प्रतिशत रासनमा घोटाला गरिँदै आरोप कैदीबन्दीहरुको छ । जसले गर्दा पोशाकको सट्टा दिइदै आएको रकममा समेत झन्डै तीन लाख ८४ हजार रुपियाँ घोटाला भएको कैदीबन्दीहरुको गुनासो छ ।
कारागार प्रशासनले कारागारको नाइके छनोट गर्दा कैदीबन्दीहरुको विपरीत आचरण गर्ने र प्रशासनका गोप्य कुरा लिक नगर्ने कैदीलाई नाइके बनाउँदै आएको कैदीबन्दीहरुले गम्भीर आरोप लगाएका छन् ।
नाइकेहरूले कैदीहरूलाई उपलब्ध गराउनुपर्ने रासन, पोसाक पर्याप्त उपलब्ध नगराउने गरेको भन्दै कैदीबन्दीहरुले शुक्रबार विरोध जनाएको बताएका छन् । यसैगरी, नाइके वा कारागारका जेलरले कैदीहरूले पाउने सुविधा पूरै नपाएको विषय बाहिर खुलासा गर्न खोजे कैदीहरूलाई अन्य जिल्लाका कारागारमा स्थानान्तरण गर्ने धम्की समेत दिने गरेको कैदीहरू बताउँछन् ।
कारागारका नाइकेले हदैसम्म कैदीबन्दीहरुलाई गलत व्यवहार गर्नुका साथै पाउनुपर्ने रकम समेत आधा प्रदान गर्न थालेपछि शुक्रबार कैदी बन्दी एकजुट हुँदै नाइके र जेलरको विरुद्धमा उत्रिएको बताउँछन् ।
प्रशासन कै मिलेमतोमा अवैध कारोबार
कारागार प्रशासनको मिलेमतोमा कारागार भित्र अवैधरुपमा लागुऔषध र मदिराको कारोबार समेत हुने गरेको खुलासा भएको छ । कारागार भित्रबाट एक कैदीले ८८४८ लेखिएको रक्सीको बोतल देखाउँदै प्रशासनको मिलेमतोमा मदिरा र अवैध लागऔषधको कारोबार हुने गरेको खुलासा गरेका हुन् । शुक्रबार साँझ ती कैदीले कारागारका कर्मचारी र उनैले तोकेका केही नाइकेको मिलेमतोमा रक्सीको कारोबार हुने गरेको बताए ।
कञ्चनपुर कारागारमा एक साता पहिले मात्रै हाजिर भएर आएका जेलर वन्दना सुवेदी हाल काजमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत हुनुहुन्छ । रामदत्त जोशी विगत तीन वर्षयता कारागारमा निमित्त जेलर हुनुहुन्छ । कारागारका जेलर सुवेदीले भने कारागारमा हुँदै आएको घोटालाविरुद्धमा आफुलाई जानकारी नभएको दाबी गरे ।
प्रशासन मौन
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने कारागारमा विगतदेखि नै हुँदै आएको बेथितिको विषयमा शुक्रबार मात्रै जानकारी पाएको बताए । पछिल्लो केही समय यता कारागारको निरीक्षण नगरिएको बताउनुहुँदै प्रमुख जिल्ला अधिकारी ढकालले कारागार प्रशासनको मिलेमतोमा अवैध कारोबार तथा कैदी बन्दीको सेवा सुविधा खोसिँदै आएको भेटिन गए नियमानुसार कारबाही अगाडि बढाइने बताए ।
प्रमुख जिल्ला अधिकारी ढकालले पोसाकको सट्टा रुपियाँ दिँदा कैदीहरूलाई सहजता हुने र झनै पारदर्शी हुने भन्दै नगद चार हजार रुपियाँ दिने निर्णय गरिएको बताउनुभयो । यसैगरी, यस घटनाको विषयमा छानबिन गर्नका लागि छिट्टै छानबिन समिति पनि गठन गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए । गोरखापत्र


