धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशभित्र नेतृत्व तहमा पुग्ने आकाङ्क्षा बोकेका नेताहरूबीच राजनीतिक सरगर्मि तीव्र भएको छ । मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि यहाँका पुराना र प्रभावशाली नेताहरू आन्तरिक लबिङ, शक्ति सन्तुलन र समीकरण मिलाउन व्यस्त देखिएका छन् । विशेषतः सुदूरपश्चिमबाट सचिव पद मा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । पार्टी विधान संशोधनपछि पदाधिकारीको संख्या घटाइने लगभग निश्चित भएपछि सचिव पद नेताहरूका लागि ‘प्रवेशद्वार’ मात्र नभई प्रतिष्ठाको विषयसमेत बनेको छ । पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरिँदा प्रतिस्पर्धा स्वाभाविक रूपमा थप पेचिलो बन्ने देखिन्छ ।
चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट सुदूरपश्चिमकै लेखराज भट्ट सचिवमा निर्वाचित भएका थिए । यस पटक पनि उनी पुनः पदाधिकारीमा दोहोरिने लगभग निश्चित जस्तै देखिन्छन् । पूर्वमाओवादी पृष्ठभूमिबाट एमालेमा आएका भट्ट अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्धमा रहेकाले उनको व्यवस्थापन नेतृत्वका लागि रणनीतिक विषय बनेको छ । स्रोतका अनुसार भट्ट यस पटक सचिवभन्दा माथिल्लो तह—उपमहासचिव वा उपाध्यक्ष—मा दाबी गर्ने तयारीमा छन् । तर पदाधिकारी संख्या घटाइएपछि उनले फेरि सचिवमै चित्त बुझाउनुपरे सुदूरपश्चिमबाट अर्को सम्भावित दाबेदारको ढोका बन्द हुने जोखिम पनि उत्तिकै देखिएको छ ।
भट्टपछि सुदूरपश्चिमबाट सचिव पदका दाबेदारका रूपमा स्थायी कमिटी सदस्य कर्ण थापा देखिएका छन् । लामो समयदेखि एमाले राजनीतिमा सक्रिय थापा सुदूरपश्चिम संगठन निर्माणका कुशल रणनीतिकारका रूपमा परिचित छन् । पूर्वप्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका उनी १०औँ महाधिवेशनमा पनि सचिवका आकाङ्क्षी थिए । यस पटक भने कुनै पनि हालतमा पदाधिकारीमा पुग्ने दृढतासहित उनी मैदानमा उत्रिएका छन् । यस्ता पुराना नेतासँगै युवा पुस्ताबाट पनि दाबी मजबुत बनेको छ । केन्द्रीय सदस्य ऐन महर सचिव पदका लागि प्रभावशाली युवा दाबेदारका रूपमा देखा परेका छन् । विद्यार्थी राजनीतिबाट उदाएका महर अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् । नेतृत्वमा युवाको भूमिकालाई अनिवार्य रूपमा स्थापित गर्नुपर्ने तर्क गर्दै उनी खुला प्रतिस्पर्धाबाटै माथिल्लो तहमा पुग्ने रणनीतिमा देखिन्छन् । देशव्यापी नेटवर्क र युवाको प्रतिनिधित्व दुवै आधारमा उनले सचिवमा दाबी प्रस्तुत गरेका छन् ।
सचिव पदका अर्का बलिया उम्मेदवार पूर्व उद्योगमन्त्री तथा निवर्तमान सांसद दामोदर भण्डारी पनि हुन् । बैतडीबाट पटक–पटक निर्वाचन जित्दै आएका भण्डारी पार्टी अध्यक्ष ओलीसँग निकट मानिन्छन् । संगठन र निर्वाचन दुवै क्षेत्रमा उनको प्रभावलाई नजरअन्दाज गर्न नसकिने नेताहरू बताउँछन् । यसैगरी पोलिटब्युरो सदस्य नारदमुनि राना ले पनि पदाधिकारीमा आफ्नो दाबी अघि सारेका छन् । थारु समुदायको प्रतिनिधित्व र भूगोलको सन्तुलनका आधारमा आफूलाई नेतृत्वमा समेटिनुपर्ने उनको तर्क छ ।
एमालेका सुदूरपश्चिमका एक नेताका अनुसार यस पटक कोशी र लुम्बिनी प्रदेशबाट धेरै दाबेदार देखिएकाले सुदूरपश्चिमलाई कति स्थान दिने भन्नेमा नेतृत्व नै दबाबमा परेको छ । उनका अनुसार, “लेखराज कमरेड पदाधिकारीमा लगभग पक्का हुनुहुन्छ । त्यसभन्दा बाहेक अर्को एक जना सचिव थप्नका लागि कर्ण थापा र ऐन महरबीच कडा प्रतिस्पर्धा हुने निश्चित देखिन्छ ।”
अध्यक्ष ओलीले सर्वसम्मत माध्यमबाट नेतृत्व चयन गरे सुदूरपश्चिमबाट १ वा २ जनामात्र पदाधिकारीमा अट्ने सम्भावना देखिन्छ । तर निर्वाचनको बाटो खुलेमा यहाँका नेताहरू स्वतन्त्र वा प्यानल बनाएर मैदानमा उत्रिने तयारीसमेत गरिरहेका छन् । पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य संख्या कटौती भएका कारण यस पटक सुदूरपश्चिममा पुराना र नयाँ पुस्ताबीचको प्रतिस्पर्धा झनै रोचक हुने संकेत देखिएको छ । भूगोल, जातीय सन्तुलन, पूर्वमाओवादी व्यवस्थापन र संगठनात्मक प्रभावको त्रिवेणी मिलाउँदै अन्ततः कसको पल्ला भारी पर्छ—त्यो भने महाधिवेशनको परिणामबाटै स्पष्ट हुनेछ ।


