काठमाडौं । क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको छ ।
लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो । चितवनको भने यो चौथो हार हो । ६ खेलबाट ४ अंक रहेको चितवन छैटौं स्थानमा छ र प्लेअफ पुग्ने होड कमजोर बनेको छ ।
सुदूरपश्चिमसँग चितवन हारेपछि तेस्रो स्थानमा रहेको विराटनगर किंग्स पनि लिगको एक खेल अगावै बिहीबार प्लेअफ पुगेको छ । विराटनगरले ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ । अब विराटनगरलाई लुम्बिनी बाहेक कुनै पनि टिमले भेट्न नसक्ने भएपछि विराटनगरलाई फाइदा पुगेको हो । यस्तै बिहीबार पोखरा एभेन्जर्स र चितवन राइनोजको हारपछि लुम्बिनी लायन्सलाई फाइदा पुगेको छ । लुम्बिनीले शुक्रबार जनकपुरलाई पराजित गरेमा प्लेअफ पुग्नेछ ।
सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमा अलआउट भयो ।चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाउँदा देव खनालले २८, ओपनर अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए । चितवनलाई अलआउट गर्न सुदूरपश्चिमका लागि पुनित मेहराले २.१ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबारको डे-नाइट म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले क्रिस लिनको अर्धशतकमा २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । नियमित ओपनर जोश ब्राउनलाई आराम दिएपछि विनोद भण्डारीसँग ओपनिङ गरेका लिनले सर्वाधिक ७५ रन बनाए । उनले ५६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे ।
लिन १७औं ओभरपछि रिटायर भएका थिए । लिनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४६ रनको साझेदारी गरेका थिए । यस्तै पाँचौ विकेटका लागि आरिफ शेखसँग ४५ रनको साझेदारी गरे ।
आरिफ शेखले र कप्तान दीपेन्द्रले अविजित रहँदै समान २४ रन बनाए । लिन रिटायर अर्ट भएपछि १८औं ओभरको सुरुमा क्रिजमा गएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै १४ बल खेल्दै २ छक्का प्रहार गरे । आरिफले १६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन जोडे ।
बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्मृक्शले १-१ विकेट लिए ।

