धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका –१० चुहामा सामुदायिक अस्पताल निर्माणको कार्य अलपत्र परेको छ । निर्माण कम्पनीका ठेकेदारले काम रोकेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो ।
काम गरेवापतको भुक्तानी बाँकी रहेको भन्दै निर्माण कम्पनीले काम रोकेको छ । दुई वर्षभित्र ५० शयाको सामुदायिक अस्पताल तयार पार्नेगरी ठेक्का पाएको केएस–शनिदेव जेभी महेन्द्रनगरले झन्डै दुई वर्षदेखि अस्पतालको काम गरेको छैन । डेढ वर्षसम्म निर्माणको काम गरेर कम्पनीले बाँकी काम रोकेर राख्दा पाँच वर्षसम्म अस्पताल बन्न सकेको छैन ।
५० लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको भन्दै निर्माण कम्पनीका ठेकेदारले बाँकी काम नगरेको वडा अध्यक्ष हर्कबहादुर कठरिया थारुले बताए ।
अस्पताल भवनको निर्माण कार्य अझै धेरै बाँकी छ । चार–पाँच वटा क्वार्टरसहितका केही संरचना भने तयार भइसकेका छन् । अधुरो अस्पताल र बनेको संरचनाको संरक्षण हुन सकेको छैन । क्वार्टर र अस्पताल भवन लागुऔषध दुर्व्यसनमा फसेका युवायुवतीको गलत कार्यस्थल बनेको जनाइएको छ ।
त्यस्तै, झ्याल, ढोका, सीसा लगायतका संरचनामा क्षति गरेको छ । रेखदेख गर्ने कोही नहुँदा बनेको संरचनामा क्षति गर्ने, सामान चोरी गरेर लैजाने लगायतका कामहरु भइरहेको वडा अध्यक्ष कठरिया थारुको भनाइ छ ।
दुई वर्षमा अस्पताल तयार पार्नेगरी आर्थिक वर्ष २०७७–७८ मा अस्पताल निर्माणको ठेक्का भएको थियो । भ्याटसहित १४ करोड ८५ लाख रुपियाँमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणमा निर्माण कम्पनीले आफूले काम गरेवापतको भुक्तानी लिइसकेको लम्कीचुहा नगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
लम्कीचुहा नगरपालिकाले गाडी खरिदका लागि छुट्याएको ७५ लाख रुपियाँबाट तत्कालीन नगर प्रमुख महादेव बजगाइँको पालादेखि अस्पताल निर्माणको कार्य सुरु गरिएको थियो । ७५ लाख रुपियाँबाट अस्पताल भवनको भुइँतलाको निर्माण गरिएको थियो । त्यसपछि बाँकी काम सङ्घीय सरकारको बजेटमा भएको छ ।
वडा अध्यक्ष कठरिया थारुका अनुसार अस्पताल निर्माणका लागि तत्कालीन प्रदेश सभा सदस्यको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट एक करोड १३ लाख र सङ्घीय सांसदको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट एक करोड १० लाख बजेट प्राप्त भएको थियो । अस्पताल निर्माणमा धेरै बजेट खर्च भइसकेको उनले बताए

