धनगढी — डिस्कभरी माध्यमिक विद्यालयले मङ्सिर ६ गते, शनिबार आयोजना गरेको ‘शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा भएको उक्त कार्यक्रममा करिब ३०० भन्दा बढी अभिभावक तथा ३० जनाभन्दा बढी शिक्षक–शिक्षिकाको सक्रिय उपस्थिति रहको विद्यालयले जनाएको छ। कार्यक्रममा पी.जी.देखि युकेजी कक्षासम्म अध्ययनरत बालबालिकाका अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अन्तरक्रियाका क्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धि, व्यवहारिक विकास, सिकाइ वातावरण तथा अभिभावक–विद्यालय सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी अभिभावकहरूले आफ्ना सुझाब, अपेक्षा र अनुभव राखेका थिए भने शिक्षकहरूले विद्यार्थीको सिकाइ प्रवृत्ति तथा कक्षा–कक्षामा भैरहेका शैक्षिक गतिविधिबारे जानकारी गराएका थिए।
विद्यालय, अभिभावक र विद्यार्थी तीनै पक्षको सामूहिक योगदान नै समग्र शैक्षिक विकासका लागि आधारशिला हुने विषयलाई यस कार्यक्रममा विशेष रूपमा औँल्याइएको थियो। आगामी दिनमा विद्यार्थीलाई अझ सक्षम, अनुशासित र आत्मविश्वासी बनाउन कसरी सहकार्य विस्तार गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रमले महत्वपूर्ण विचार–विमर्श गरेको बताइएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा विभिन्न संयोजकहरूको उपस्थिति रहेको थियो। अभिभावकहरूले कार्यक्रममार्फत व्यक्त गरेका सुझाव र अभिमतले विद्यालयको शैक्षिक गुणस्तर उकास्न ठूलो मद्दत गर्ने विद्यालयको विश्वास छ। यस प्रकारका कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नु विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा अनिवार्य रहेको विद्यालयले जनाएको छ।
विद्यालयले अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रमको मूल उद्देश्य—साना नानी–बाबुलाई सही दिशा, प्रेरणा र मूल्य–आधारित शिक्षा प्रदान गर्ने—सफलतापूर्वक पूरा भएको निष्कर्ष निकालेको छ।


