धनगढी। धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा पछिल्लो समय लेन अनुशासन नमान्ने प्रवृत्ति तीव्र हुँदै जाँदा दुर्घटनाको जोखिम उच्च स्तरमा पुगेको छ। चालकहरूद्वारा जथाभावी लेन परिवर्तन, गलत दिशाबाट ओभरटेक तथा आपतकालीन लेनमा सवारी चलाउने कार्य बढेपछि सडक सुरक्षा गम्भीर रूपमा प्रभावित बनेको छ। मोहना पुलदेखि अत्तरिया चोकसम्म फैलिएको करिब १४ किलोमिटर लामो यो ६ लेन सडकखण्डमा दैनिक सयौं सवारी साधन गुड्ने गर्छन्। तर निर्धारित नियमअनुसार सवारी चलाउने संस्कृतिको अभावले दुर्घटना सम्भावना झनै बढेको ट्राफिक सुरक्षाविद् बताउँछन्।
मोटरसाइकल, अटोरिक्सा, ठूला मालवाहक तथा निजी सवारी सबैले प्रहरी, एम्बुलेन्स र अन्य आपतकालीन सवारीका लागि छुट्याइएको लेन समेत दुव्र्यवहार गर्ने गरेको पाइन्छ। यसो मात्रै होइन, बाँया तर्फबाट सवारी उछिन्ने, मापदण्ड विपरीत दिशा परिवर्तन गर्ने, मनपरी स्थानमा पार्किङ गर्ने तथा अव्यवस्थित रूपमा मोड काट्ने जस्ता गतिविधि सर्वसाधारणका लागि जोखिमपूर्ण चुनौती बनेका छन्। यसले चालक मात्र होइन, यात्रु र पैदलयात्री सबैलाई दुर्घटनाको भयमा राखिरहेको छ।
६ लेन सडक तर चलनचल्ती जस्ताको तस्तै
स्थानिय सिद्धराज पनेरुका अनुसार ६ लेन सडकको संरचना आधुनिक भए पनि चालकहरूमा ट्राफिक ज्ञानको अभाव स्पष्ट रूपमा देखिन्छ। “यहाँ ६ लेन बने पनि चालकले कुन लेन कसका लागि हो भन्ने बुझ्दैनन् कि बुझ्न चाहँदैनन्, छुट्याउनै गाह्रो छ। स्पिड लेनमा समेत मालवाहक गाडी र अटोरिक्सा निसङ्कोच हिँड्छन्। जथाभावी मोड काटिन्छ, अव्यवस्था हाबी छ। यस्तो रहिरहे दुर्घटना बढ्नु स्वाभाविक हो,” पनेरुले बताए।
ट्राफिक शिक्षा नपुगेको सरोकारवालाको आक्रोस
यातायात क्षेत्रका सरोकारवालाहरूका अनुसार समस्या समाधानको मूल आधार ट्राफिक शिक्षा नै हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दका भनाइमा ‘उत्तम सडकको निर्माण मात्रै पर्याप्त हुँदैन, चालकमा अनुशासन र ट्राफिक बोध हुनु अत्यावश्यक छ।’ उनले भने, “सबैभन्दा पहिले विद्यालयदेखि नै ट्राफिक शिक्षा दिनुपर्छ। बसपार्क, भीडभाड भएका चोक–बजारमै पुगेर सचेतना फैलाउनुपर्छ। जानाजानी नियम भंग गर्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्छ। शिक्षा र कारबाही दुबै प्रभावकारी रूपमा लागु गरिएमात्र सुधार हुन्छ।”

ट्राफिक प्रहरी: ‘सिमित जनशक्तिका कारण निरन्तर निगरानी चुनौती’
लेन अनुशासनका लागि पटक–पटक सचेतना अभियान सञ्चालन गरिए पनि चालकहरूको व्यवहारमा खासै सुधार नदेखिएको ट्राफिक प्रहरीले स्वीकार गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख चक्र बहादुर देउवाका अनुसार ६ लेन सडकमा प्रत्येक लेनको प्रयोजन स्पष्ट रूपमा तोकिएको छ—
पहिलो लेन : साइकल
दोस्रो लेन: पिकअप तथा हल्का सवारी
तेस्रो लेन : अटोरिक्सा तथा मोटरसाइकल
चौथो–पाँचौ लेन : अन्य सामान्य सवारी साधन
छैटौं (अन्तिम) लेन : आपतकालीन तथा ओभरटेकका सवारीका लागि
“हामीले बारम्बार जानकारी गराएका छौँ, तरपनि नियम उल्लङ्घन व्यापक छ। जेब्रा क्रसमा पैदलयात्री प्राथमिकता पाउनुपर्ने हो, तर चालकहरूले गति नै कम गर्दैनन्,” देउवाले बताए। उनका अनुसार सीमित जनशक्ति तथा स्रोतसाधनका कारण निरन्तर निगरानी कठिन भए पनि लेन उल्लङ्घन, तीव्र गति र अन्य नियमभंग गर्नेहरूलाई नियमित कारबाही भइरहेको छ।
जथाभावी पार्किङले समस्या झनै गम्भीर
लेन अव्यवस्था मात्र होइन, जथाभावी पार्किङले पनि सडक उपयोगमा थप अवरोध सिर्जना गरिरहेको छ। स्थानीयवासीका अनुसार सडक अधिकार क्षेत्रभित्रै अनधिकृत रूपमा सवारी पार्किङ गर्दा लेन अवरुद्ध हुने, जाम बढ्ने र जोखिम झनै बढी हुने गरेको छ। विशेषज्ञ तथा सरोकारवालाहरूका सुझाव अनुसार ६ लेन सडकलाई सुरक्षित बनाउनका लागि आवश्यक प्रमुख कदम यस्ता छन्—
लेन अनुशासन कडाइका साथ कार्यान्वयन
भीडभाड क्षेत्रमा ट्राफिक प्रहरीको सक्रिय उपस्थिति
नियमित सडक सुरक्षा तथा ट्राफिक शिक्षा कार्यक्रम
अनधिकृत पार्किङ नियन्त्रण
आधुनिक निगरानी (सीसीटीभी) प्रणाली विस्तार
चालकलाई चेतावनीबाटै अनुशासनमा ल्याउने दीर्घकालीन अभियान
सुदूरपश्चिमको मुख्य प्रवेशद्वार मानिने धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा बढ्दो अव्यवस्था नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम नचालिए दुर्घटनाको जोखिम आगामी दिनमा अझै भयावह हुने चेतावनी सरोकारवालाहरूले दिएका छन्।


