महेन्द्रनगर: सेवा सुविधा नपाएपछि महाकाली अस्पतालमा करारमा रहेका स्वास्थ्यकर्मी आन्दोलित भएका छन। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले भत्ता नपाएपछि आन्दोलन थालेका हुन्। ‘श्रम शोषण गर्न पाइँदैन’ भन्दै मंगलबार दिउँसोदेखि आन्दोलन थालेका उनीहरुले दसैँ भत्ता, महँगी भत्ता र अतिरिक्त काम गरे बापतको भत्ता माग गरेका छन्।
अस्पतालमा कार्यरत नर्स सबिना पडाल (भट्ट)ले काम गरेपनि सेवा सुविधा नपाएपछि आन्दोलनमा उत्रिएको बताइन्। विगत दुई वर्षदेखि दसैँ भत्ता नपाएको उनको भनाइ छ। अर्की नर्स ममता सिंहले पनि राज्यले तोकेको सेवा सुविधा नपाएको गुनासो गर्दै आफूहरुमाथि श्रम शोषण भएको बताइन्। यसैगरी, अस्पताल प्रशासनका कर्मचारी मनिष टेरले स्थायीसरह काम गरे पनि अन्तिममा आएर सेवा सुुविधा नपाएको बताए। डा। कुमेश गामीले पनि काम गरे बापत अतिरिक्त भत्ता नपाएको गुनासो पोखे।
झण्डै डेढ सय बढी करार सेवाका कर्मचारीहरु रहेको महाकाली अस्पतालमा उनीहरुले माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टले करार सेवाका कर्मचारीहरुको मागअनुसार सामाजिक विकास मन्त्रालयमा पत्राचार गरेको बताए। ‘उहाँहरुको दसैँ भत्तालगायतका सेवा सुविधाबारे हामीले लेखेरै पठाएका छौँ,’ उनले भने, ‘मन्त्रालयबाट निकासा हुने वित्तिकै निकास गरिदिन्छौँ।’
यसअघि कोरोना महामारीका बेला भत्ता पाउँदै आएका स्वास्थ्यकर्मीको पछि कटौती भएको थियो। सुदूरपपिश्चम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गत वर्ष बनाएको करार सेवामा चिकित्सक तथा स्वाथ्यकर्मीसम्बन्धी कार्यविधीअनुरुप सेवा सुविधा पाउने निमित्त मेसु भट्टले बताए। ‘उहाँहरुले अघि सारेका मागका विषयमा हामीले माथिल्लो निकाय मन्त्रालयमा पठाइसकेका छौँ,’ उनले भने।

