धनगढी: सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मित सिंहलाई दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०का लागि तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ। यससँगै हर्मितले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने भएका छन्। गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए। उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन्।
आफ्नो अनुबन्धमा खुशी व्यक्त गर्दै हर्मितले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।’ सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले हर्मितको आगमनले टिम झनै बलियो बन्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हर्मितको आगमनले टिम झनै बलियो बनेको छ। उनीबाट गत सिजनजस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौं।’
३२ वर्षीय हर्मित बाँयाहाते बलर हुन् र बाँयाहाते ब्याटिङ पनि गर्छन्। उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन्। अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट लिँदा ३२५ रन बनाएका छन्। हर्मित सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए। उनले इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सका लागि समेत खेलेका छन्।

