कैलाली । सुदूरपश्चिमको दार्चुलामा रहेको अपिहिमाल गाउँपालिका पर्यटन विकासमा उत्कृष्ट कार्य गरेको भन्दै राष्ट्रियस्तरमा सम्मानित भएको छ । विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अपिहिमाललाई देशभरका स्थानीय तहमध्ये पर्यटन विकासमा उत्कृष्ट पालिका घोषित गर्दै सम्मानपत्र प्रदान गरेको हो ।
मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव हरिप्रसाद मैनालीले गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई सम्मानपत्र हस्तान्तरण गरे । गाउँपालिकाले पछिल्ला तीन वर्षमा ‘अर्ग्यानिक अपि’ अभियान, पदयात्रा र हिमाल आरोहण प्रवर्द्धन, होमस्टे र स्थानीय उत्पादनको बजार विस्तारजस्ता कार्यमार्फत उल्लेखनीय प्रगति हासिल गरेको छ ।
अध्यक्ष बोहराका अनुसार यो सम्मानले अपिहिमाललाई ‘अर्ग्यानिक र टुरिजम गाउँपालिका’का रूपमा स्थापित गर्न थप प्रेरणा प्रदान गरेको छ ।

