धनगढी: गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै पनि २ सय ५९ जना फरार रहेका छन्। तीमध्ये कर्तव्य ज्यान, जबरजस्ती करणी र लागुऔषध जस्ता जघन्य अपराधमा दोषी ठहर भई कारागार चलान भएका कैदीबन्दी सबैभन्दा बढी संख्यामा फरार छन्। कैलाली जिल्ला कारागारका अनुसार, आन्दोलनको क्रममा कुल ६ सय ६५ जना कैदीबन्दी कारागार तोडेर फरार भएका थिए। तीमध्ये हालसम्म ४ सय ६ जना पुनः कारागार फर्किएका छन्। अधिकांश कैदीबन्दी स्वेच्छिक रूपमा फर्किएका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ। तर अझै पनि २ सय ५९ जना कैदीबन्दी फरार रहेका कारागार प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए।
जघन्य अपराधमा संलग्न कैदी बढी फरार
कारागार प्रशासनले दिएको तथ्यांक अनुसार, अझै पनि लागुऔषध सम्बन्धी मुद्दाका ९३ जना, जबरजस्ती करणी र हाडनाता करणी मुद्दाका ७७ जना, तथा कर्तव्य ज्यान, ज्यान सम्बन्धी कसुर र आत्महत्या दुरुत्साहन मुद्दाका ४७ जना कैदीबन्दी फरार रहेका छन्। त्यस्तै चोरी, डाँका, ज्यान मार्ने उद्योग, हातहतियार, बैंकिङ कसुर, ठगी लगायतका अन्य मुद्दाका कैदीबन्दी पनि अझै पक्राउ परेका छैनन्।
स्थानीयमा बढ्दो त्रास र सुरक्षाको चुनौती
कर्तव्य ज्यान र जबरजस्ती करणीजस्ता जघन्य अपराधमा सजाय भोगिरहेका कैदीबन्दी अझै बाहिर रहेकाले स्थानीयवासीबीच त्रास बढेको छ। स्थानीय नागरिकहरूका अनुसार, रातको समयमा सुरक्षाको अभावले समुदायमा डर र असुरक्षा महसुस भइरहेको छ। अधिवक्ता बीर बहादुर जेठाराका अनुसार, जघन्य अपराधका कैदीबन्दी बाहिर रहेसम्म सर्वसाधारण नागरिकको सुरक्षाको प्रत्याभूति हुन सक्दैन। उनका अनुसार फरार कैदीका नाममा अरू अपराधीक मानसिकता भएका व्यक्तिहरूले समेत आपराधिक गतिविधि बढाउन सक्ने सम्भावना उच्च छ।
प्रहरीको विशेष टोली परिचालन
फरार कैदीबन्दीलाई स्वेच्छिक रूपमा फर्किन प्रशासनले दिएको समयावधि सकिएपछि प्रहरीले विशेष अभियान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार फरार कैदीबन्दी पक्राउका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ।फरार कैदीबन्दी जहाँ–जहाँ देखिन्छन्, त्यहाँ प्रहरी टोली खटाइएको छ, सिंहले भने। स्थानीयले कैदीबन्दी देखे तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ।
जेनजी आन्दोलनकै बेला कारागार तोडफोड
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न अराजक अवस्थाको फाइदा उठाउँदै कैलाली जिल्ला कारागार तोडेर ६ सय ६५ जना कैदीबन्दी फरार भएका थिए। त्यसबेला कारागारमा ५८ जना महिला सहित ६ सय ६७ जना कैदीबन्दी रहेका थिए। तीमध्ये दुई जना मात्र भाग्न सकेका थिएनन्। हालसम्म पनि जघन्य अपराधमा सजाय भोगिरहेका कैदीबन्दी बाहिरै रहँदा कैलालीमा सुरक्षा चुनौती थप गम्भीर बन्दै गएको छ। स्थानीयवासीले प्रशासनसँग सुरक्षाको प्रत्याभूति र फरार कैदीबन्दीलाई चाँडो नियन्त्रणमा लिन आग्रह गरेका छन्।

