डडेलधुरा — ६२ वर्ष लामो राजनीतिक जीवनको तीन दशक समय राष्ट्रिय राजनीतिमा पकड जमाएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सक्रिय राजनीतिबाट विश्राम लिने सन्देश दिएका छन् । १० वर्ष कांग्रेस सभापति र पाँच पटक मुलुकको प्रधानमन्त्री बन्ने अवसर पाएका ८० वर्षीय देउवाले कांग्रेस सभापतिबाट विश्राम लिएको घोषणासँगै गृहजिल्ला डडेलधुरा बासिन्दाले आ-आफ्नै तर्क गरिरहेका छन् ।
२४ भदौको घटनापछि असोज २८ को कांग्रेस केन्द्रीय समिति बैठकमा सार्वजनिक भएका देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापति सुम्पेर अब पुरानै भूमिकामा नफर्कने सार्वजनिक सन्देश दिएका हुन् । देउवाले नेतृत्व हस्तान्तरण गरेको बारे गृहजिल्ला डडेलधुरामा धेरैले जेनजी आन्दोलनपछि आएको राजनीतिक परिवर्तनसँग जोडेर स्वाभाविक र सकारात्मक भएको बताउँदै अन्य दलले पनि सिकाइ लिनुपर्ने तर्क गरेका छन् भने केहीले नेतृत्वको विकल्प नहुँदै सक्रिय भूमिका नछाड्नु पर्ने बताइरहेका छन् ।
२००३ सालमा डडेलधुराको रुवाखोलामा जन्मेका देउवा १७ वर्षको उमेरमा २०२० देखि नै कांग्रेसबाट सक्रिय राजनीतिमा लागेका थिए । २५ वर्षको उमेरमै उनी कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनिसकेका थिए । ६२ वर्ष लामो राजनीतिमा दुई पटक पार्टी सभापतिदेखि डडेलधुराबाट २०४८ यताका सबै निर्वाचन जितेर पाँच पटक प्रधानमन्त्री हुने अवसर पाएका थिए । प्रजातन्त्र पुनर्वहालीपछि २०४८ सालमा डडेलधुराबाट निर्वाचित भई गृहमन्त्री बनेका देउवा पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री बनेका थिए ।
कांग्रेस डडेलधुराका जिल्ला सचिव हेमराज चटौतले देउवाले गरेको पछिल्लो घोषणा पार्टीको विधान अनुसार नै भएको बताए । उनले भने, ‘दुईवटा महाधिवेशनपछि तेस्रो कार्यकालका लागि सभापति बन्न नपाउने व्यवस्था विधानमा छ । त्यसैले नियमित महाधिवेशनमार्फत उहाँले जिम्मेवारी छोड्नु राम्रो निर्णय हो ।’ देउवाकै जन्मस्थान गन्यापधुरा गाउँपालिका–१ का पूर्व वडाध्यक्ष चेतराम भट्टले देउवाको नेतृत्व हस्तान्तरण सकारात्मक भए पनि नेतृत्वको विकल्प तयार हुन नसकेको तर्क गरे । ‘पार्टीमा सधैं एउटै नेतृत्व रहनुभन्दा हस्तान्तरण हुनु राम्रो हो,’ उनले भने, ‘तर, डडेलधुराबाट पटक-पटक प्रतिनिधिसभामा जित्ने र राष्ट्रिय स्तरमा नेतृत्व गर्ने देउवा जस्तो नेता सिंगो सुदूरपश्चिम प्रदेशले पाउन निकै गाह्रो हुनेछ ।’
कांग्रेस महाधिवेशन प्रतिनिधि नवलबहादुर मल्लले देउवाले नेतृत्व हस्तान्तरणको कुरा ६र७ महिनादेखि नै सार्वजनिक रूपमा भन्दै आएको बताए । उनले भने, ‘विधान र वर्तमान राजनीतिक सन्दर्भ दुवै हिसाबले उहाँको निर्णय उपयुक्त र सान्दर्भिक छ ।’ उनका अनुसार डडेलधुरा कांग्रेसकै बलियो आधार भएको जिल्ला हो । संगठन एकजुट भएर अघि बढे फेरि पनि देउवा जस्तो नेतृत्व जन्मिन सक्छ । उनले देउवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा रहेको प्रभावलाई पनि औंल्याए । एमाले डडेलधुराका अध्यक्ष गजेन्द्र शाहीले देउवाको निर्णयको प्रशंसा गर्दै नयाँ पुस्ताका लागि राम्रो सन्देश भएको बताए । उनले संघर्ष र कष्ट झेलेर त्यहाँसम्म पुगेका देउवाले अहिले नेतृत्व हस्तान्तरण गर्नु सराहनीय कदम रहेको बताए । ‘अब युवाले पनि योग्यता, विवेक, चेतना र दृष्टिकोणका साथ राजनीतिमा आउनुपर्ने बेला भएको छ,’ उनले भने । शाहीका अनुसार देउवाको कार्यकालमा धेरै विकासका काम भए पनि यद्यपि रोजगारी र उद्यमशीलतामा अपेक्षित सुधार हुन सकेन । देउवाले अब अभिभावकको भूमिकामा रहँदै नयाँ पुस्तालाई दिशानिर्देश गर्नुपर्ने उनले बताए ।
डडेलधुराका युवा पुस्ताका नेता(कार्यकर्ता देउवाको निर्णयले नयाँ राजनीतिक संस्कृतिको सुरुवात गरेकाले अरु दललाई पनि सिकाइ हुनुपर्ने बताउँछन् । कांग्रेसका युवा नेता टेकबहादुर ऐरले देउवाको निर्णयको प्रशंसा गर्दै युवालाई समेट्ने कुराले नयाँ पुस्ताले नेतृत्व पाउने बाटो खुलेको बताए । उनले अब डडेलधुरामा देउवा जस्तो नेता पाउन भने कठिन हुने तर्क गरे । विद्यार्थी नेता गौरव ऐरले देउवाको कदमले नयाँ पुस्ताका लागि बाटो खुलेको बताए । उनले भने, ‘यो निर्णय अर्को पुस्तालाई अवसर हो । देउवाको पुस्तान्तरणको निर्णयले नयाँ पुस्ता राजनीतिमा आउन सहज हुने छ ।
नवदुर्गा गाउँपालिका–४ का युवा भरत विष्ट देउवाले नयाँ पुस्तालाई नेतृत्व दिनु परिवर्तनको संकेत भएको बताए । लामो समय पार्टी सञ्चालनमा अनुभव जुटाएका देउवाको सम्मान गरेर नयाँ पुस्ताले कांग्रेसलाई भिन्न ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनको धारणा छ । उनले डडेल्धुराबाट पाँच पटक प्रधानमन्त्री पाएर पनि जिल्लाको विकास नहुनुमा देउवा भन्दा पार्टीका जिल्लास्तरीय कार्यकर्ताको दोषी रहेको बताए । ‘विकासका लागि आएको बजेट तथा कार्यक्रममा पार्टीकै कार्यकर्ताको हालीमुहाली रहने गरेको देखिन्छ । देउवा सुदूरपश्चिमका लागि राजनीतिक खम्बा भए पनि उनले चाहे जस्तो विकास हुन नसक्नुमा उनकै कार्यकर्ताको हात बढी देखिन्छ ।’
देउवा दुई पटक कांग्रेस सभापति र पाँच पटक प्रधानमन्त्री भए पनि डडेलधुराको समग्र विकासको गति द्रुत हुन नसकेको स्थानीयको गुनासो पनि छ । देउवाले राष्ट्रिय स्थायित्वमा भूमिका खेले पनि जिल्लाको विकास अपेक्षाकृत सुस्त रहेको उनकै मतदाताको भनाई छ । सुदूरपश्चिमका पाका पत्रकार हरिप्रसाद जोशी देउवाले शक्तिशाली नेतृत्वका रूपमा सुदूरपश्चिमलाई राष्ट्रिय राजनीतिक केन्द्रमा पुर्याउने भूमिका निर्वाह गरे पनि दीर्घकालीन विकासमा ठूला उपलब्धि देखाउन नसकेको बताउँछन् ।
‘पश्चिम सेती, पञ्चेश्वर जस्ता ठूला र महत्त्वाकांक्षी परियोजना निर्माण गरेर सुदूरपश्चिममा आर्थिक विकासको ढोका खोल्ने काम देउवाबाट मात्रै सम्भव थियो,’ जोशी भन्छन्, ‘देउवाले शक्तिमा रहेका बेला सुदूरपश्चिमको दिर्घकालीन विकासका लागि खासै प्रभावकारी कदम चाल्न भने सकेनन् ।’ शक्तिमा रहेका बेला ठूला परियोजनालाई ठोस रूपमा अघि बढाउन नसक्नु देउवाको राजनीतिक कमजोरी रहेको बताए ।
देउवाको राजनीतिक उचाइका कारण जिल्लास्तरमा राजनीति गरिरहेका नेताहरु भने राजनीतिमा सफल हुन नसकेको कतिपयको तर्क छ । अन्य दल आबद्ध नेताहरुले देउवासँग प्रतिष्प्रर्धा गर्न नसक्दा राजनीतिमा स्थापित हुन सकेनन् भने स्वयम् कांग्रेस डडेल्धुराको सभापतिको जिम्मेवारीमा रहेका अधिकांश नेताहरु हाल पार्टीको राजनीतिप्रति असन्तुष्ट छन् ।
कांग्रेस डडेल्धुराको सभापतिका रुपमा लामो समय नेतृत्व गरेका हिरा भट्ट, रामचन्द्र चटौत, शेरबहादुर ढाँट र कर्णबहादुर मल्ल हाल देउवासँग छैनन् । ‘जिल्लामा पार्टीको संगठन बनाउने नेताबिरुद्ध कुरा लगाएर देउवाबाट दण्डित गराउने प्रवृतिका कारण जिल्लास्तरीय नेताहरु टिक्न नसकेका हुन्,’ कांग्रेस डडेल्धुराका पूर्वसभापति चटौतले भने । सुदूरपश्चिमका अन्य नेताहरुको तुलनामा देउवाले थुप्रै काम गरेर देखाएको देउवा निकटस्थ राजनीतिक कार्यकर्ताहरु दाबी गर्छन् । निर्वाचनका बेला मात्रै गृहजिल्ला पुग्ने तर जितिसकेपछि जनताको बीचमा कम देखिने आरोप खेप्दै आएका देउवालाई पाका कार्यकर्ता अझै सक्रिय राजनीतिमा आउन चाहेको हेर्न चाहेको बताउँछन् ।
‘अन्य नेताहरूभन्दा देउवाले धेरै काम गरेर देखाएको छ । अब उनी सक्रिय नरहँदा सुदूरपश्चिमको राजनीति कमजोर हुन्छ,’ गन्यापधुरा–१ का लालमणि भट्ट भन्छन्, ‘देउवा अहिले पनि हाम्रो जिल्लाका प्रतीक हुन् । उनले धेरै काम गरेकै हुन् । तर अपेक्षा अझ धेरै थियो, अहिले नै उनले राजनीतिबाट विश्राम लिनु हुँदैन थियो ।’
कान्तिपुरबाट


