धनगढी: सुदूरपश्चिममा आयुर्वेदिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा दैनिक सयौँ बिरामी सेवा लिन आउने गरेको पाइएपछि यसको लोकप्रियता थप उच्च बन्दै गएको छ। सजिलो उपचार पद्धति, दीर्घकालीन असर नपर्ने विश्वास, प्राकृतिक औषधि प्रयोग र विशेषज्ञ सेवाको उपलब्धताले सर्वसाधारणको भरोसा आयुर्वेदिक उपचारतर्फ बढ्दै गएको चिकित्सालयले जनाएको छ।
२०७८ साल असोजदेखि ओपिडी सेवा सञ्चालनमा ल्याएको प्रादेशिक आयुर्वेद चिकित्सालयले पछिल्ला वर्षहरूमा सेवा विस्तार गर्दै आएको छ। हाल यस चिकित्सालयले छारसुत्र विधिबाट सर्जरी समेत सुरु गरेको छ, जसका कारण बिरामीहरूको चाप उल्लेख्य रूपमा बढेको छ। अहिले दैनिक १०० देखि ३०० बिरामीले विभिन्न सेवा लिइरहेको सूचना अधिकारी सुरेन्द्र शाहीले जानकारी दिए।
उनका अनुसार आयुर्वेदिक उपचारबारे जनचेतना बढेसँगै सेवाग्राहीको संख्या निरन्तर वृद्धि भइरहेको छ। गत आर्थिक वर्षमा मात्र ५ हजार ८ सय ज्येष्ठ नागरिकले विभिन्न आयुर्वेदिक सेवा लिएका थिए भने कुल २२ हजार ३ सय ९४ जनाले सल्लाह, प्रयोगशाला, पञ्चकर्म, पूर्वकर्म लगायतका उपचार लिएका थिए। यसैबीच चालु आर्थिक वर्षको पहिलो दुई महिनामै ८ हजार ९ सय ६३ जनाले सेवा लिइसकेको तथ्यांक चिकित्सालयले सार्वजनिक गरेको छ।
आयुर्वेदिक उपचारलाई सहज, प्राकृतिक र दीर्घकालीन असर नपर्ने भएकाले धेरैले प्राथमिकता दिन थालेका छन्। सेवाग्राहीहरूले पनि अन्य उपचार पद्धतिभन्दा आयुर्वेदिक उपचारलाई सुरक्षित र भरपर्दो भएको बताउँदै आएका छन्। उनका अनुसार आयुर्वेदिक औषधिले ढिलो प्रभाव देखाए पनि परिणाम दिर्घकालीन हुने र स्वास्थ्यमा नकरात्मक असर नपर्ने भएकाले यसप्रति आकर्षण बढिरहेको हो। हाल प्रादेशिक आयुर्वेद चिकित्सालयले ओपिडी, छारसुत्र सर्जरी, पञ्चकर्म, पूर्वकर्म, एक्स–रे, ल्याब परीक्षण तथा बालरोग विशेषज्ञ सेवासहित सात प्रकारका सेवा दिइरहेको छ। ५० शैयाको क्षमता रहेको यो चिकित्सालयमा आवश्यक उपकरण र जनशक्ति थपिए उपचार सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।


