धनगढी: कैलालीस्थित गेटा अस्पतालले २४ घण्टा विशेषज्ञसहितका स्वास्थ्य सेवा दिन थालेपछि बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। अस्पतालले ओपिडी, इमर्जेन्सी, ल्याब, फार्मेसी लगायतका सेवा चौबिसै घण्टा सञ्चालन गर्न थालेपछि सेवा लिन आउने विरामीहरू खुसी देखिएका छन्। अस्पतालको ओपिडीमा हाल कार्डियोलोजी, पेडियाट्रिक्स, नेफ्रोलोजी, न्युरोलोजी, साइकेट्रिकलगायतका विशेषज्ञ सेवा सञ्चालनमा छन्। यससँगै २४ सै घण्टा उपलब्ध हुने इमर्जेन्सी, ल्याब तथा फार्मेसी सेवाले विरामीको पहुँच सहज बनाएको छ।
आँकडाले देखायो सेवा विस्तारको प्रभाव
काउन्टर प्रमुख भोजराज पाण्डेका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा गेटा अस्पतालको ओपिडी सेवाबाट १६ हजार १२९ जनाले उपचार लिएका थिए। तर, चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा मात्र ३ हजार १५५ जनाले ओपिडी सेवा लिइसकेका छन्। यस्तै, गत आर्थिक वर्षमा १२ हजार ९७ जनाले प्रयोगशाला (ल्याब) सेवा लिएका थिए भने यो वर्षको साउन महिनामा मात्र १ हजार ५६३ जनाले सेवा लिएको पाण्डेले बताए।
सेवाप्रति नागरिकको सन्तुष्टि
गेटा अस्पतालको स्वास्थ्य सेवाबाट स्थानीय नागरिक सन्तुष्ट देखिएका छन्। सेवाग्राही नवराज भट्टका अनुसार, अन्य अस्पतालको तुलनामा गेटामा सहज र सरल सेवा पाइने भएको छ। अस्पताल जस्तो हुनुपर्ने हो, पछिल्लो समय गेटा अस्पताल त्यस्तै बन्दै गएको छ, भट्टले भने। त्यस्तै, सेवाग्राही लोकेन्द्र धामीले सेवा विस्तार अझै आवश्यक रहेको उल्लेख गर्दै, “अस्पतालमा सुरु भएका नयाँ सुविधा सराहनीय छन्, तर थप बिस्तार गर्न जरुरी छ,” भने।
विशेष सुविधा सुरु
अस्पतालमा हाल सुदूरपश्चिममा अन्यत्र नभएका आधुनिक सेवा सञ्चालनमा छन्। मेमोग्राम, मोड्युलर ओटी, मोड्युलर ल्याब सेवा र आर्थोस्कोपी सेवा अस्पतालमै उपलब्ध छन्। साथै, इमर्जेन्सी, इण्डोर सेवा, आइसियु र एनआइसियु पनि सञ्चालनमा छन्। हाल ७५ बेड क्षमतासहित सेवा दिइरहेको अस्पतालले आगामी दिनमा थप विस्तार गर्ने तयारी गरेको काउन्टर प्रमुख पाण्डेले जानकारी दिए।
स्तरोन्नतिको माग
गेटा अस्पतालले २४ सै घण्टा सेवा विस्तार गरेसँगै यसलाई अझ स्तरोन्नति गरी मेडिकल शिक्षा सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने माग स्थानीयले गरेका छन्। उनीहरूको भनाइमा, यसरी नै सेवा विस्तार हुँदै गएमा गेटा अस्पताल सुदूरपश्चिमको प्रमुख स्वास्थ्य केन्द्र मात्र नभई शैक्षिक तथा उपचारको उत्कृष्ट गन्तव्य बन्न सक्छ।


