धनगढी धनगढीमा आयोजित निसर्ग इन्डो नेपाल जुगेडा कप भलिबल प्रतियोगिताको उपाधी भारतको उत्तरप्रदेशस्थित सुडा विजयीले जितेको छ । धनगढी उप महानगरपालिका–१० स्थित संयुक्त राना जनचेतना परिवारद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधी जित्दै सुडा टिमले १ लाख ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता नेपालकै कमल रेष्टुरेन्टले ८१ हजार रुपैयाँ पायो भने तेस्रो स्थानमा भारतकै द मेडिसिटी, रुद्रपुर रहेर ४१ हजार रुपैयाँसहित पुरस्कृत भयो। असोज ४ देखि ८ गतेसम्म निसर्ग इन्डो नेपाल जुगेडा कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक प्रदर्शन कार्यक्रमको अध्यक्षता भगिरथ रानाले गरेका थिए भने टाईटल स्पोन्सर निसर्ग अस्पतालका अध्यक्ष तिर्थ राज पन्त प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए। प्रमुख अतिथि पन्तले युवाहरुलाई खेलकुदमार्फत अघि बढाउन सरकारबाट पर्याप्त सहयोग हुनुपर्ने आवश्यकता औंल्याए । उनले जुगेडा कप खेलकुदसँगै रानाथारु समुदायको कला, संस्कृति र पहिचान संरक्षणमा टेवा पुर्याइरहेको र नेपाल–भारत बीच मित्रता सुदृढ बनाउन पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । अगामी दिनमा पनि निसर्ग अस्पतालको सहयोग रहने बताएका हुन ।
कार्यक्रमका क्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका तीन व्यक्तित्वलाई विशेष सम्मान गरिएको थियो। सुदूरपश्चिम प्रदेशमै नवजात शिशु तथा बालरोग क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएका डा। प्रदिप मिश्र, लामो समयदेखि जुगेडा कपमा कार्यक्रम सञ्चालन गर्दै आएकी श्रीशा राना, तथा २०८२ संस्करणका मुख्य संयोजक रहेका सुरज रानालाई आयोजकले सम्मानपत्र प्रदान गरेको हो।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सुप प्रदेश खेलकुद परिषद्का पूर्व सदस्यसचिव दिपक सिंह, पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया राना, कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना, द मेडिसिटी रुद्रपुरका बजार व्यवस्थापक राहुल सिंह लगायतका पाहुनाको उपस्थिति थियो। समापन समारोहमा स्वागत मन्तव्य स्थानीय समाजसेवी रामकुमार रानाले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन भानु प्रताप रानाले गरेका थिए। दर्शक, खेलाडी, सहयोगी र प्रयोजकको उल्लेख्य उपस्थितिले प्रतियोगिता भव्य र सफल बनेको आयोजकले जनाएको छ।


