धनगढी । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीले संयुक्त रुपमा लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । मंगलबार अपराह्न करिब ४ बजे धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा भारततर्फबाट नेपाल आउँदै गरेको सु.प.प्र.०१–००९ प ४०८१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी–११ बस्ने २९ वर्षीय सन्त राम रानाको लेग गार्डमा लुकाइ छिपाइ राखिएको अवस्थामा ६ ग्राम ८३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद पदार्थसहित मोटरसाइकल र रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, कञ्चनपुरमा पनि प्रहरीले दुईजनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ । मंगलबार साँझ करिब ६ बजे भीमदत्त नगरपालिका–४ बसपार्कस्थित सार्वजनिक शौचालयमा लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा कृष्णपुर नगरपालिका–२ बस्ने २४ वर्षीय चन्द्र चन्द र बझाङको बुङगल नगरपालिका–१० बस्ने २७ वर्षीय धन बहादुर बागको साथबाट ८६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको हो ।
उनीहरुलाई पदार्थसहित अस्थायी प्रहरी चौकी बसपार्क, कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।


