धनगढी: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि चर्चामा रहेको गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा छिट्टै सञ्चालनमा ल्याउने बताएका छन् । उनले विश्वविद्यालय सञ्चालनका लागि कुनै रोकावट नरहेको बताउँदै यसलाई राष्ट्रिय आवश्यकताको रूपमा अघि बढाउन सरकार दृढ रहेको बताए ।
बिहीबार नेपाल प्रेस युनियन, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले विश्वविद्यालयका लागि आवश्यक विधेयक संसदबाट पारित गरी संरचना निर्माण र पदाधिकारी नियुक्ति गर्ने काम अघि बढिरहेको जानकारी दिए । ‘अहिले छ वटा प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन्, बाँकी रहेको एक मात्र प्रदेशमा मेडिकल कलेज स्थापना गर्नु हाम्रो दायित्व हो,’ उनले भने । मन्त्री पौडेलले विगतमा संघ र प्रदेशबीचको अधिकारसम्बन्धी विवादका कारण गेटा सञ्चालनमा ढिलाइ भएको स्वीकार गरे ।
‘गेटा अस्पतालमा ३०० शैय्यामा विस्तार गरेर मेडिकल कलेज चलाउने हाम्रो तयारी थियो, तर विवादले निर्णय कार्यान्वयन हुन सकेन,’ उनले भने, ‘अब यसलाई विवादको विषय होइन जनताको आवश्यकता र स्वास्थ्य क्षेत्रको अपरिहार्य पूर्वाधारको रूपमा लिनुपर्छ ।’ यस्तै, गेटा मेडिकल कलेजलाई आफ्नो पहिलो प्राथमिकताको प्रोजेक्टमा राखेको बताउँदै मन्त्री पौडेलले आफ्नै कार्यकालभित्र यसलाई पूर्ण रूपमा सञ्चालन गरेरै छाड्ने जिकिर गरे । उनले आफूले चासो देखाएपछि अस्पतालमा बिरामीको चाप बढेको पनि बताए ।
‘पहिले दैनिक ५० जना बिरामी आउँथे, अहिले दैनिक ३०० जना बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भने,


