भीमदत्तनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन । पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन सकेको छैन । विक्रम संवत् २०७७ मङ्सिर १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्घाटन गरेका छन् । सोही कार्यक्रमअन्तर्गत लालझाडी–३ नन्दगाउँमा आधारभूत अस्पतालका लागि पूर्वाधार निर्माण गरिएको हो ।
करिब रु ६ करोडको लागतमा पूर्वाधार निर्माण गरिएको हो । ‘बजेट र जनशक्ति नहुँदा सञ्चालन गर्न समस्या भएको छ’, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने । स्थानीय तहसँग आन्तरिक आयस्रोत न्यून रहेकाले अस्पताल सञ्चालन गर्न सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक भएको उनको भनाइ छ ।
सो स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीयले उपचारका लागि धनगढी र महेन्द्रनगर धाउनुपर्ने बाध्यता छ । लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले आधारभूत अस्पताल सञ्चालन गर्न मन्त्रालयले कार्यविधि तयार गरेको भए पनि त्यसअनुसार उपकरण र जनशक्ति व्यवस्थापन हुन नसकेको बताए । उनका अनुसार आधारभूत अस्पतालका लागि दुई चिकित्सकसहित २२ कर्मचारीका लागि अस्थायी दरबन्दी स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ ।
‘अस्पताल सञ्चालनका लागि हामीले अघिल्लो वर्ष नै पाँच जना माग गरेका थियौँ, उपकरण उपलब्ध नभएकाले पद आपूर्ति प्रक्रिया पनि रोकिएको छ’, उनले भने- ‘यस वर्ष पालिकाले अस्पताल सञ्चालन गर्न रु ८० लाख विनियोजन गरेको छ ।’

