धनगढी: कैलाली कारागारमा कैदीबन्दीमाथि भएको हमलामा घाइते थप एकजनालाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको छ । घाइते कैदीबन्दी २४ वर्षीय कर्ण सलामी मगरलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सारुमगरलाई नियमित उडानबाट काठमाडौँ पठाउन लागिएको जानकारी दिए ।
उनले अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार सारुमगरको बायाँ हातको हड्डी भाँचिएको छ भने हातको नशामा समेत फाटेको देखिएको छ । शुक्रबार राती कारागारमा सुतिरहेका कैदीबन्दीमाथि कैदीबन्दीकै अर्को समूहले सांघातिक हमला गर्दा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । धनगढी उपमहानगरपालिका ४, का भरत चौधरीको मृत्यु भएको थियो । गम्भीर घाइते आयुष भट्टलाई थप उपचारका लागि नेपाली सेनाको स्काइ टकबाट शनिबार बेलुकी काठमाडौँ लगिएको थियो ।
घाइते एक जनाको निसर्ग अस्पताल र अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी जोशीले जानकारी दिए ।

