काठमाडौँ । भारतको नोयडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएमएन) मा उपाधि जितेका रवीन्द्र ढाँटलाई राष्ट्रपति कार्यालयमा दिइएको सम्मानप्रति भ्लगर सिसन बानियाँले प्रश्न उठाएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ढाँटलाई सम्मान गरेका थिए । यसबारे बानियाँले सामाजिक सञ्जालमा गम्भीर असन्तुष्टि पोखेको छन् । उनले लेखेका छन्, ‘इमानदारीपूर्वक भन्दा, च्याम्पियनलाई कुनै सम्मान महसुस भएन । ५ मिनेटको भाषण हानेर, फोटो खिचाएर टाप । हामीलाई चिया बिस्कुट खान भनेर छोडियो ।’
उनले थपे, ‘त्यो कुरूप हलमा ढाँटले एक कप चिया खायो । २० मिनेट सबैसँग सिङ्गल फोटो खिच्यो । के त्यसरी देशको च्याम्पियनलाई सम्मान गरिन्छ र’ ‘मेरो केटाले धेरै मेहनत गरेको छ । यदि च्याम्पियनबाट केही पब्लिसिटी चाहिन्छ भने हिरोलाई आर्थिक रूपले पनि सम्मान गर !’


