धनगढी: आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा संलग्न रहेको आरोपमा उनलाई पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोको अनुरोधमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ गरेको हो । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार काठमाडौं जिल्ला अदालतबाट साउन १६ गते पक्राउ पुर्जी जारी भएको आधारमा उनलाई पक्राउ गरिएको हो ।
साइबर अपराधसम्बन्धी मुद्दामा वाइबाविरुद्ध अदालतको अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो, ओलियाले भने, उनीमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन काठमाडौं पठाइनेछ । सामाजिक अभियन्ता भनेर चिनिँदै आएकी वाइबा सामाजिक सञ्जालमा आपत्तिजनक, भद्दा र विवादास्पद सामग्री सार्वजनिक गरी विवादमा परिरहन्छन् ।


